Logo

प्रदेश नम्बर २ नेपाली कांग्रेसको उद्गम स्थल : आनन्द ढुङ्गाना



भदौ ११, काठमाण्डौ । नेपाली कांग्रेसका नेता आनन्द ढुङ्गानाले प्रदेश नम्बर २ को चुनावका लागि उम्मेदवारी टुङ्गो लगाउने काम अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता ढुङ्गानाले जिल्लाबाट सिफारित भएका उम्मेदवारको नाम केही दिनभित्रमा नै टुङ्गो लगाउने तयारी भइरहेको नेता ढुङ्गानले बताए ।
अहिलेसम्म ६ वटा जिल्लाको उम्मेदवारको छिनोफानो भइसकेको दाबी गर्दै नेता ढुङगानाले अब २ वटा जिल्लाको विषयमा छलफल भइरहेको बताए ।
प्रदेश नम्बर २ मा उम्मेदवार छनौटको विषयलाई लिएर पार्टीभित्र कुनै पनि विवाद नभएको समेत उनले बताए ।

प्रदेश नम्बर २ नेपाली कांग्रेसको उद्गम स्थल भएको दाबी गर्दै नेता ढुङ्गानाले त्यस क्षेत्रमा कांग्रेसले धेरै स्थानीय तहमा जित हासिल गर्ने बताए । उम्मेदवार छनौट गर्दा पार्टी र देशप्रति इमानदार व्यक्तिलाई प्राथमिकता दिने उनले बताएका छन् ।
देशकै मियो नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले भने, “परिवर्तनको नेतृत्व गर्ने नेपाली कांग्रेस हो । जबसम्म कांग्रेसले सरकार बनाउन सक्दैन, तबसम्म नेपाली जनताले निकास पाउँदैनन् ।”

आगामी दिनमा जनताले नेपाली कांग्रेसको नेतृत्व देख्न चाहेको दाबी ढुङ्गानाको छ ।
पार्टीभित्र गुटगत राजनीति हाबी भएको स्विकार गर्दै त्यसलाई प्रजातान्त्रिक पार्टीको विशेषताको रुपमा लिनुपर्ने तर्क उनले गरे । आवश्यकता अनुसार विभिन्न दलसँग चुनावी तालमेल गर्ने तयारी भइरहेको समेत नेता ढुङ्गानाले बताएका छन् । राजपा र नेकपा माओवादी केन्द्रसँग तालमेल हुने सम्भावना बढि रहेको उनले बताए । संविधान संशोधनका लागि एक ठाउँमा उभिएका शक्तिहरुसँग चुनावी एकता हुनसक्ने ढुङ्गानको भनाई छ । संविधान संशोधनको प्रस्तावलाई टुङ्गोमा पु¥याउनका लागि आवश्यकता अनुसार दलहरुसँग मिलेर अघि बढ्ने उनको तर्क छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पूर्ण रुपमा सफल भएको विश्लेषण ढुङ्गानाले गरेका छन् ।
संविधान संशोधनको विषयमा नरेन्द्र मोदीसामु गरेको कुरा सामान्य विषय भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्