Logo

भारतमा पक्राउ परेर यातना पाएका उदयहाङका परिवार भन्छन्, राष्ट्रिय मानव अधिकार अयोग खारेज गरे हुन्छ



भदौ ११, काठमाण्डौ । भारतको सिलगुढीमा १८ दिन थुनामा रहेको इलामका उदयहाङ फागोका परिवारले सरकारप्रति आक्रोष व्यक्त गरेका छन् । आफ्नी आमाको उपचारका लागि सिलगुढी गएका बेला पश्चिम बंगाल सरकारले झुटा आरोप लगाएर पक्राउ गर्दा नेपाल सरकारले छटाउनका लागि कुनै पहल नगरेको आरोप फागोका परिवारले लगाएका हुन् ।
इलाम जिल्ला सुर्योदय नगरपालिका–१० निवासी उदयहाङ फागुलाई पश्चिम बंगाल प्रहरीले दार्जिलिङ आन्दोलन लगायतका अपराधिक गतिविधिमा संलग्न रहेको झुटा आरोप लगाएर पक्राउ गरेको थियो ।
मानव अधिकार परिषद् नेपालले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै पक्राउ परेर १८ दिनको थुनापछि मुक्त भएका उदयहाङ फागोकी दिदी साधना फागोले नेपाल सरकार र राष्ट्रिय मानव अधिकार अयोग निरिह रहेको अरोप लगाइन् । साधनाले भनिन्, “मानव अधिकार आयोग कहाँ छ ?”
उदयहाङले आफ्नी आमालाई उपचारका लागि सिलगुढी गएका बेला दार्जिलिङ आन्दोलनमा सहभागि भएको झुटो आरोपमा बंगाल प्रहरीले पक्राउ गरेर यातना दिएको थियो । अस्पतालबाट नै उदयहाङलाई सोधपुछका लागि भनेर प्रहरीले पक्राउ गरेर १८ दिनसम्म थुनामा राखेको उदयकी दिदी साधनले जानकारी दिइन् । सादा पोषकमा आएका प्रहरीले माथिको आदेश भन्दै जबरजस्ती पक्राउ गरेको साधनाको भनाई छ । २ मिनेटका लागि भनेर लगिएपनि अलमल्याएर भोलिपल्ट सम्म राखेर अदालतमा मुद्दा दायर गरिएको साधनाले बताइन् । मुद्दा दायरपछि म्याद थप गर्दै दुःख दिइएको थियो ।

उदयहाङ फागो

अहिले पनि साधारण तारेखमा छुटाइएको भन्दै उदयकी दिदी साधनाले अब तारेख धाउन नजाने अडान लिएकी छिन् । “सरकारले नै अब नेपाली नागरिकका लागि तारेख धाउनुपर्छ । मुद्दा खेप्नुपर्छ ।” साधनाले भनिन् ।
यसक्रममा नेपाल सरकारलाई विभिन्न तरिकाबाट ध्यानाकर्षण गराउँदा पनि छुटाउनका लागि कुनै पहल नगरिएको उदयका दाजु शरण फागुले बताए । भारतीय परराष्ट्रमन्त्री सुश्मा स्वराज नेपाल आएका बेला समेत समस्याका बारेमा जानकारीसहित पत्र पठाउँदा पनि कुनै पहल नभएको शरणको भनाई छ । यता प्रधानमन्त्री कार्यालयमा समेत ज्ञापन पत्र बुझाइएको थियो । त्यहाँबाट पनि कुनै पहल गरिएन । राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी गरिएको जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइयो । “आयोगले उजुरी दिदा तस्विर खिचाइयो । पहल गर्ने आश्वासन दिइयो । तर केही काम गरिएन ।” शरणले भने ।
पक्राउ परेका उदयहाङले झुटो आरोपमा भारतीय प्रहरीले पक्राउ गरेर अनावश्यक यातना दिइएको गुनासो गरे । स्वतन्त्र देशको नागरिकलाई पक्राउ गरी आफुसँग भएको नागरिकता, मतदाता परिचयपत्र र सवारी चालक अनुमति पत्रसमेत भारतीय प्रहरीले अपमानजनक तरिकाले फालिदिएको पिडित युवा उदयहाङले सुनाए । “आफ्नो नागरिकतामाथि भारतीय प्रहरीले अपमान गर्दा मन धेरै रोयो ।”
“सरकारले इट्टा र माटो देओस्, हामी सिमानामा पर्खाल लगाउन तयार छौँ । ” भारतीय सिमा जिल्ला इलामका उदयहाङले भने ।
कसरी छुटे उदयहाङ ?
सरकारी निकाय र मानवअधिकार आयोगबाट कुनै पहल नभए पनि उदयका परिवारले छुटाउने प्रयास गरिरहेका थिए । यसबिचमा विभिन्न संचारमाध्यममा घटना समाचारको रुपमा बाहिर आएपछि मानव अधिकार परिषद्को ध्यानाकर्षण भएको थियो । परिषद्का अध्यक्ष तुलसी थापाको पहलमा उदयलाई छुटाउन सफल भएको उदयका परिवारले बताए । परिषदका अध्यक्ष थापाले घटनाको बारेमा थाहा पाएपछि आँफै अग्रसर भएर छुटाउने प्रक्रिया सुरु गरेका थिए । परिवारसहित कसैलाई पनि भेट्न नदिई स्लिपिङ ट्याब्लेट खुवाएर थुनामा राखिएका उदयहाङलाई छुटाउनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मानव अधिकार परिषद् र यसका अध्यक्ष तुलसी थापालाई परिवारले धन्यवाद दिए । उदयहाङकी दिदीले साधनाले त राष्ट्रिय मानव अधिकार आयोगले कुनै काम गर्न नसकेको आरोप लगाउँदै मानव अधिकार परिषद्लाई नै मान्यता दिन सरकारसँग आग्रह गरिन् ।
छुटाउनका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, इलामबासी, पत्रकार लगायतको पनि सहयोग मिलेको भन्दै उदयहाङकी दिदी साधनाले सबैलाई धन्यवाद दिइन् ।
कार्यक्रम मानवअधिकार परिषदका अध्यक्ष तुलसी थापाले झुटो आरोपमा थुनामा परेका उदयहाङलाई छुटाउन धेरै मिहिनेत गर्नुपरेको बताए । सामान्य प्रक्रिया पूरा गर्न पनि भारतीय पक्षले दुःख दिएको गुनासो थापाले गरे ।
थापाले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग यस्ता समस्याको विषयमा कुनै कुरा नगरेको भन्दै आक्रोष व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्