Logo

प्रधानमन्त्री देउवाको भारत भ्रमणका एक सदस्यले गरे सबै खुलासा



भदौ १२, काठमाण्डौ । गोविन्दराज पोखरेल भन्छन्, “प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिचको वान टु वान वार्तामा के कुरा भयो त्यो थाहा हुने कुरा भएन । तर केही कुरा छन्, जसले देउवाको भारत भ्रमण सफल बनाएको छ । भारतले जुन हिसाबले सम्मान ग¥यो प्रधानमन्त्री देउवालाई त्यो सम्मान भनेको नेपालप्रतिको सम्मान हो ।”
प्रधानमन्त्रीको भारत भ्रमणका एक सदस्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आर्थिक, सद्भाव र राजनीतिक हिसाबले भ्रमण सफल भएको दाबी गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भारत भ्रमणलाई सफल भ्रमणको रुपमा व्याख्या गरेका हुन् ।
भ्रमणका क्रममा देखाइएको सम्मान र सद्भाव सकरात्मक रहेको पोखरलेको तर्क छ । पञ्चेश्वर परियोजनाका विषयमा भएको सहमतिलाई पनि पोखरेलले सफलताको मापन मानेका छन् । “अर्को कुरा पञ्चेश्वरको डिपिआर गर्ने सहमति भएको छ । एक महिनाभित्रै डिपिआर गर्ने सहमति हुनु ठूलो उपलब्धि हो ।” उनले भने ।
सिमाना क्षेत्रमा भारतले बनाएका बाँध र तटबन्धले नेपाली भूमि डुबानमा परेको कुरा प्रधानमन्त्री देउवाले स्पष्टसँग राखेको पोखरेलले बताए । भारतीय पक्षले पनि यसलाई सकरात्मक रुपमा लिएर संयुक्त प्राविधिक टोली बनाएर त्यसले गरेको अनुसन्धानका आधारमा समस्या समाधान गर्न सहमत भएको पोखरेलको दाबी छ ।
विरगंज, नारायणगढ, पोखरा र बुटवलमा एक्सप्रेस वे बनाउने कुरा भएको पोखरेलले जानकारी दिए । रेलवे कनेक्सनको कुरा पनि भएको छ ।
पुनः निर्माणका लागि दिने भनिएको २ सय ५० मिलियन डलर रकम पनि अब छिटै उपलब्ध गराउने दाबी पोखरेलले गरे । “सम्झौता भएको छ । अब कार्यान्वयनमा जान्छ ।” पोखरेलले भने । अरुण थ्रि र अपर कर्णालीको उद्घाटन गर्न मोदी आफै नेपाल आउने सहमति भएको छ ।
नेपाल–भारतबिचमा भएको अविश्वास सबै हटेको पोखरेलको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्