Logo

ऐन कानुन प्राप्त नहुँदा कठिन र संकटको अवस्था छौँ । निर्वाचन आयोग नयाँ निर्णय गर्न बाध्य नहोस् : अयोधिप्रसाद यादव



प्रदेश र संसदको चुनावको मिति घोषणा भइसकेको छ । तर चुनावका लागि आवश्यक नियम र ऐन बनिसकेको छैन । यस्तो अवस्थामा चुनाव गर्न के कति अप्ठ्यारा छन् ? यस विषयमा ऋषि धमलाले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीमा निर्वाचन आचारसंहिताको पालनाका सन्दर्भमा पनि बहस गरिएको छ । प्रस्तुत छ यादवसँगको अन्तरवार्ताको सम्पादित अंश ।

निर्वाचनको तयारी कहाँ पुग्यो ?
प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी गरिसकेको छ । प्रत्येक स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेका छौँ ।

प्रदेश नम्बर २ मा निर्वाचन आचारसंहिता कार्यान्वयन भएको छैन भन्ने गुनासो आएको छ नि ?
आचारसंहिताको उल्लङ्घन नहोस् भनेर राजनीतिक दल, कार्यकर्ता र सम्भावित उम्मेदवारलाई सचेत गराउँदै आएका छौँ । हामी यस विषयमा संवेदनशील छौँ । यहाँले भनेजस्तो आचारसंहिता विपरितका काम भएका छैनन् । प्रचार प्रसार चलिरहेको छ । आचारसंहिता उल्लङ्घन भएको खण्डमा हामी चुप लागेर बस्दैनौँ ।

मतदातालाई प्रभावित बनाउनका लागि दलहरुले आचारसंहिता विपरितका काम गर्ने गरेका छन् । किन नियन्त्रण हुन सक्दैन ?
नेपाली मतदाता कसैको प्रभावमा पर्दैनन् । सचेत छन् । मतदाताहरुमा लोकतान्त्रिक अभ्यास विकसित भइसकेको छ । हामी आग्रह पनि गछौँ, मतदाताहरु सार्वभौमसत्ता हुनुहुन्छ । कसैले मत प्रभावित पार्न खोज्यो भने सचेत हुनुहोला । दल तथा उम्मेदवारले पनि आचारसंहिताका पालना गर्ने गरेका छन् । विगतको तुलनामा अहिले आचारसंहिता धेरै पालना हुने गरेको छ ।

चुनावमा मनी र मसल्सको प्रयोग हुने गरेको छ नि ?
अब मनी र मसल्सको प्रयोग गरेर चुनाव जित्ने समय छैन । कसैले पनि मनी र मसल्सलाई स्विकार गर्दैनन् । कानुनी रुपमा पनि हामी कडा रुपमा प्रस्तुत हुन्छौँ । यससम्बन्धमा हामीलाई जानकारी प्राप्त हुनासाथ हामी कारबाही गछैँ । हामीलाई जानकारी त दिनुप¥यो । ऋषि जि तपाईले निरिक्षण एम्बेस्डरको काम गरिदिनुस् न । यत्रो ठूलो पत्रकार भएर इलेक्सन एम्बेसडरको काम गर्नुस् न ।

हामी संचारकर्मीको नाताले आफ्नो भूमिका निभाउँछौँ । तर तपाई निर्वाचनमा शक्तिको दुरुपयोग हुँदैन भनेर प्रतिवद्धता व्यक्त गर्न सक्नुहुन्छ ?
शक्तिको दुरुपयोग त हुँदै हुँदैन । भोटिङ पावरको प्रयोग हुन्छ । भोटिङ पावरको प्रयोग गर्न राजनीतिक दल र मतदाताहरुलाई हाम्रो आग्रह पनि छ । निर्वाचन आयोग आचारसंहिता कडाईका साथ कार्यान्वयन गर्छ । म आग्रह पनि गर्छु कि सबैले आचारसंहिता पालना गर्नुहोस् । चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग कसैले पनि नगर्नुहोला । यो कुरा हामीले सबै राजनीतिक दलहरुलाई आग्रह पनि गरेका छौँ ।

ऐन कानुन सबै प्राप्त भइसकेको छैन । यस्तो अवस्थामा प्रदेश र संसदको चुनाव सम्भव छ ?
ऐन कानुन प्राप्त नहुँदा हामी ज्यादै कठिन र संकटको अवस्था छौँ । यसको लागि हामीले नेपाल सरकार र संसदलाई पटक पटक आग्रह गरेका छौँ । अब छिटै ऐन कानुन पारित होला भन्ने आशा गरेका छौँ । अन्यथा निर्वाचन आयोग नयाँ निर्णय गर्न बाध्य हुनेछ । सधैँ गृहकार्यमा छौँ भनेर हुँदैन । चुनावको मिति घोषणा गर्ने तर ऐन कानुन नदिने कामले हामीलाई समस्या परेको छ ।

प्रतिनिधी सभा र प्रदेशको चुनाव एकै चरणमा हुन सक्छ ?
त्यो त करिब करिब सहमति भएको छ । दुई चरणमा गर्ने तर प्रदेशप संसदको चुनाव एकै पटक गर्ने कुरामा हामी सहमत छौँ । तर देशैभरी एकैपटक सबै ठाउँमा चुनाव गर्न सकिदैन । २ चरणमा गर्नुपर्छ । सबै चुनाव मंसिर १० गते गर्ने भन्ने मिति सच्याउनुपर्छ । यसका लागि हामी प्रयासमा छौँ । मंसिर महिनाभित्र चुनाव सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्