Logo

प्रधानमन्त्री देउवाको अभिव्यक्तिको राजपा स्वागत गर्दछ : शरतसिंह भण्डारी



भदौ १३, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता शरत्सिंह भण्डारीले राजपाले चुनावलाई आन्दोलन र संघर्षको उपयोगको रुपमा प्रयोग गर्ने नीति लिएको बताएका छन् । राजपाको अडानकै आधारमा २ वटा निर्वाचनमा भाग लिन नपाएको गुनासो गर्दै नेता भण्डारीले संविधान संशोधनको विषयलाई सरकारले अघि बढाएको विषयलाई सकरात्मक रुपमा लिएको बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता भण्डारीले संशोधन प्रस्ताव पारित हुन नसके पनि राजपाको मुद्दा स्थापित भएको खुशी व्यक्त गरे । आगामी दिनमा दुई तिहाई बहुमत ल्याएरै संविधान संशोधन गर्ने दाबी भण्डारीको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा आगामी दिनमा संविधान संशोधन गर्ने बाचा गरेको कुरालाई भण्डारीले स्वागत गरेका छन् ।
“राजपाले त प्रधानमन्त्री देउवाको अभिव्यक्तिको स्वागत गर्दछ ।” नेता भण्डारीले भने ।
नेकपा एमाले लगायतका केही नेताहरुले देउवाको भनाईको विरोध गर्नु अनावश्यक भएको भण्डारीको तर्क छ । संविधान सभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याएर बोल्न लगाउने अहिले भारतमा गएर बोलेको कुराका विरोध गर्नु उचित नभएको भण्डारीको भनाई छ ।
“मोदीले सबैको अनुहार देखिने संविधान निर्माण होस् भन्दा ताली बजाउने यिनै नेता । चार बुँदे पत्र पठाएर संविधान संशोधन गर्छु भन्ने तिनै केपी ओली । भारतमा गएर संविधान संशोधन गर्छु भन्ने पुष्पकमल दाहाल । सबैलाई सहमति गरेर संविधान संशोधन गराउँछौँ भन्ने परराष्ट्रमन्त्री कृष्णबहादुर महरा । अहिले देउवाले संशोधन गराउँछु भन्नु कसरी नाजायज?” भण्डारीले भने ।
नेपालको द्धन्द्ध व्यवस्थापन र संविधानका बारेमा विश्वले नै चासो लिइरहेको टिप्पणी भण्डारीको छ ।
नेपाल सरकारले जान हुँदैन भन्दा भन्दै नेकपा एमालेका नेता माधवकुमार नेपाल उत्तर कोरिया गएकोप्रति भण्डारीले आपत्ति जनाएका छन् ।
राजपा भारतबाट चलेको भन्ने आरोप छ नि भन्ने धमलाको प्रश्नमा राजपामाथि आरोप लगाउनेहरु नै भारतबाट चलिरहेको आरोप लगाए । “सबै प्रमुख दलहरु भारतको चाबीबाट चलिरहेका छन् ।” भण्डारीले बताए ।

मधेशवादी दलहरु एक भएर चुनावमा लड्न लागेकाले अब प्रदेश नम्बर २ मा राजपा सबैभन्दा ठूलो दल बन्ने भण्डारीको जिकिर छ । चुनावमा नेकपा एमाले र राप्रपाबाहेक अरु सबै दलसँग राजपा तालमेल गर्न तयारी रहेको भण्डारीले बताए । मधेशी जनताको भावनासँग खेलवाड गरेकाले दुई दलसँग तालमेल नगेर्न भण्डारीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot