Logo

देउवाले बाजी मारेको भारत भ्रमण



ऋषि धमला
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको राजकीय भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वास जित्न सफल भए । उनले भ्रमणको शुरूबाट फर्कदासम्म पाएको विशेष सम्मान र उच्च महत्वले विश्वासको वातावरण बलियो भएको पुष्टि हुन्छ । देउवाले भ्रमणको पहिलो दिन मोदीसँग अनौपचारिक भेटको अवसर पाए । भ्रमणको तालिकामा नभएको सरप्राइज खबरबाट भेटको अवसर पाउनुले राजनीतिवृत्तमा तरंग ल्यायो । दुवै प्रधानमन्त्रीबीच आधा घण्टा लामो

भएको वन टु वन भेटले गतिलो परिणाम ल्याउने संकेतहरू देखिइसकेको छ । देउवालाई विश्वासमा लिने मोदीको यो उचित समयमा चालिएको उचित कदम थियो । देउवाको भ्रमणको विशेषता मध्येको अनौपचारिक भेट विशेष बन्यो । दिल्लीमा संविधान संशोधनलाई जारी राख्दै आगामी दिनमा पारित गराउने प्रतिवद्धता, कोशी उच्च बाँधको विषयलगायत मामलामा देशभित्र विपक्षीले विरोध गरेपनि दिल्लीमा भव्य स्वागत र भारतको उदार व्यवहारका कारण देउवा खुशी मात्र भएनन् सन्तोषको सास फेरेर काठमाडौं फर्किए ।

सन् २०१४ मा आफ्नो दललाई बहुमत दिलाएर भारतको शक्तिशाली प्रधामन्त्री बनेका नरेन्द्र मोदीले आफ्नो कार्यकालमा चारजना नेपाली प्रधानमन्त्रीलाई दिल्लीमा स्वागत गरिसके । सुशील कोइराला प्रधानमन्त्रीका रूपमा उनको सपथग्रहण समारोहमा निम्तो गरिएका थिए । प्रचण्ड र केपी शर्मा ओलीले राजकीय भ्रमण गरेका थिए । देउवाले मोदी कार्यकालमा विशेष अवस्थामा भ्रमण गरे । चारवटै भ्रमणको विशेष महत्व थियो । त्यसमध्ये पनि देउवाको भ्रमणले विशेष महत्व राखेको छ । भारतले नेपालमा आफ्नो चासो बढाइरहँदा नेपालको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापतिलाई विश्वासमा लिनुपर्ने दबाब समेत थियो । नेपालमा अन्य अन्तर्राष्ट्रिय शक्तिको प्रभाव कम गरेर भूमिका कायम राखिरहन देउवाको साथ चाहेको देखियो । त्यसैले देउवाले भारतमा उच्च सम्मान पाए ।

नेपाल मामलामा चीनको भूमिका बढिरहेको बुझाई भारतमा रहेको छ । नेपालका नेताहरूको चीनसँग बढ्दो निकटताले भारतलाई शतर्क बनाएको छ । केही नेताहरूको चीनसँगको हिमचिमलाई भारतले विशेष चासोका साथ लिएको छ । यस अवस्थामा भारतले नेपालका प्रमुख पार्टीका शिर्ष नेताहरूलाई विश्वासमा लिन खोजिरहेको छ । नरेन्द्र मोदीले छिमेकलाई प्राथमिकतामा राखेर कुटनीतिक कदमहरू चाल्दै आएका छन् । उनको प्राथमिकतामा नेपाल पर्ने गरेको छ । विगतमा नेपाल आउँदा उनले नेपाललाई उच्च महत्व दिएको मन र वचनले प्रकट गरेका थिए । नेपालका नेताहरूलाई कुनै हालतमा टाढिन नदिने योजना मुताबिक मोदीको कुटनीति देखिन्छ । यही सन्दर्भमा प्रधानमन्त्रीका रूपमा देउवाको भ्रमण भयो ।

देउवाले विमानस्थलमा ओर्लिए देखि नै उच्च महत्व पाए । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफै विमानस्थलमा स्वागतका लागि पुगिन् । उनले भारतका राष्ट्रपति, उपराष्ट्रपति, विपक्षी दलकी नेता सोनिया गान्धीलगायत शिर्ष नेताहरूसँग भेटे । देउवाले प्रष्टसँग नेपालको भारत नीति र भविष्यमा सम्बन्धलाई प्रगाढ बनाउनेबारे छलफल गरे । थोरै बोल्ने तर सटिक बोल्ने देउवाले भारतीय नेताहरूको मन जित्न सके । नरेन्द्र मोदीले उनीसँग दुईपटक भेट गरे । एक्ला एक्लै भेटेर गम्भीर मुद्यामा छलफल गरे । देउवाले मोदीलाई भविष्यमा दुवै देशको हितलाई केन्द्रमा राखेर अगाडि बढ्नेबारे आश्वस्त पार्न सके । मोदीको चाहना नेपालमा केही असन्तुष्टि भए अन्त होस् भन्ने थियो । देउवाको भ्रमणले असन्तुष्टिको बादललाई पूर्ण रुपमा हटाइदिएको छ ।

देउवा आन्तरिक राजनीतिमा समन्वयकारी नेताको परिचय बनाउन सफल छन् । कुटनीतिक चार्तुयता समेत देउवामा देखियो । भारतसँग मिलेर जाँदा नेपालको हित हुनेमा स्पष्ट छन् । त्यसले भारत भ्रमणताका द्विपक्षीय हित र मिलेर जान विषयमा गम्भीर छलफल गरे । जलविद्युतलगायतका क्षेत्रमा काम बढाउन मिलेर जान सकिने, विगतमा कार्यान्वयनमा ढिलाई भएका परियोजना तत्काल बढाउने, पूर्वाधार विकासमा भारतको सहयोग वृद्धिलगायतका विषय उठाए । राष्ट्रिय हितका मुद्यामा स्पष्ट कुरा राखेकाले मोदी देउवासँग खुशी भए । मोदी स्वयं राष्ट्रवादी नेताको परिचय बनाउन सफल छन् ।

दुनियाँको जुनसुकै देशमा जाँदा राष्ट्रिय हितको सवाललाई गम्भीरताका साथ उठाउँछन् । यसपटक देउवाले भारत भ्रमणताका यस्तै सवाल उठाए । पञ्चेश्वरको डिपिआर एक महिनाभित्र अन्तिम रुप दिने, आउँदो हिउँदमा लोडसेडिङ्ग हुन नदिन भारतबाट विद्युत आयात, द्विपक्षीय सहयोगमा महत्वपूर्ण उपलब्धि हासिल गरे । देउवाले संविधानलाई भारतले खुलेर स्वागत नगरिसकेको विषयलाई गम्भीरताका रुपमा लिएको देखियो । भारतको स्वागतको अपेक्षा गर्दै संविधान संशोधनको प्रतिवद्धता व्यक्त गरे । मोदीले संविधानमा सबैको अपनत्व होस् भनेका थिए । यसैलाई दृष्टिगत गरी सबैले आफ्नो महशुश गर्ने गरी संविधान संशोधन गरिछाड्ने दृढता व्यक्त गरे । यसलाई सार्वजनिक रुपमा नबोलिदिएको भए विपक्षीका लागि भारत भ्रमणबारे देउवाको विरोध गर्ने एजेण्डा समेत हुँदैनथियो । उनको अभिव्यक्तिको जे जस्तो टिकाटिप्पणी भएपनि संविधान कार्यान्वयनको दिशामा देउवाले अन्तर्राष्ट्रिय समुदायको समेत साथ र सहयोग हासिल गरिरहेको घटनाक्रमले देखाउँदै लगेको छ ।

देउवा भारत भ्रमणमा रहेको बखत असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा जाने निर्णयमा पुग्यो । उसले निर्वाचन आयोगमा दल दर्ता ग¥यो । देउवाले कुटनीतिक माध्यमले समेत देशभित्रको असन्तुष्ट पक्षलाई चुनावको पक्षमा ल्याउन सके । भारत भ्रमणमा जानुअघि संविधान संशोधनको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरे । झीनो मतले असफल भएपनि देउवाले संसदीय प्रक्रियालाई निरन्तरता दिएर असन्तुष्ट पक्षलाई समेत संसदीय अभ्यासमा आउने अवस्था सृजना गरे । देउवाले चुनावका लागि अन्तर्राष्ट्रिय समुदायको मन जितेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत चुनावमा भारतको साथ र सहयोग रहने बताए । यसबाट देउवाले सत्तामा रहेर अन्तर्राष्ट्रिय समुदायको विश्वास जितिरहेको संकेत मिल्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनले द्विपक्षीय सम्बन्ध र व्यक्तिगत सम्बन्धमा आश्वस्त बनाइसकेका छन् । मोदीलाई पुनः नेपाल भ्रमणमा आउन देउवाले निम्तो दिएका छन् । मोदी भ्रमणका लागि आतुर रहेको जवाफ आयो ।
मोदी पुनः नेपाल आउन चाहन्छन् । उनी पहिलोपटक नेपाल आउँदा भव्य स्वागत मिलेको थियो । संविधान निर्माणपछिको घटनाक्रमले नेपालमा नाकाबन्दी सम्मको अवस्था बन्दा असन्तुष्टि चुलियो । मोदीप्रति नेपाली जनताको मोह ह्वात्तै घट्यो । अबको मोदीको भ्रमणमा पहिलोपटक नेपाल आउँदा भन्दा पनि भव्य स्वागतको अवस्था रहनेगरी आउन चाहिरहेका छन् । पूर्वाधार विकासमा उल्लेख्य सहयोगको घोषणा र काम बढाउने गरी मोदी नेपाल आउन चाहिरहेछन् । उनको भ्रमण अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यासको अवसर पारेर गर्न खोजिदैछ । मोदी नेपालमा जलविद्युतको विकास र यसको सदुपयोगबाट दक्षिण एशियाकै आर्थिक कायापलट चाहन्छन् । अरुण तेस्रोको शिलान्यास दक्षिण एशियाको आर्थिक प्रगतिमा नयाँ आधार बन्न सक्छ ।

मोदीले नेपालमा भौतिक पूर्वाधारको द्रुत निर्माणमा जोड दिदै आएका छन् । नेपालसँग सीमा जोडिएको विभिन्न सीमा बिन्दु हुँदै रेल सञ्जाल जोड्न चाहन्छन् । तीन स्थानमा त्यसका लागि काम समेत बढिरहेछ । रेलले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन खोजिरहेछन् । हुलाकी राजमार्गको निर्माण जतिसक्दो छिटो पूरा गर्न मोदी आतुर छन् । जलसम्पदाको उचित सदुपयोगका लागि ठोस कदम चाल्ने विषय प्राथमिकतामा परेको छ । कोशी उच्च बाँध निर्माणको योजना अगाडि बढाउने सहमति बनेको छ । दुवै देशको आर्थिक प्रगतिमा केन्द्रित रहेर सहमतिहरू बनेका छन् ।

दुवै देशका प्रधानमन्त्रीबीच गम्भीर छलफल र भ्रमण सफल बनाउन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको भूमिका महत्वपूर्ण रह्यो । उनले कुटनीतिक चार्तुयता प्रस्तुत गरेर दुई देशको हितमा काम हुने वातावरण बनाए । देउवाको भ्रमण्को सफलताको मुख्य सूत्रधारमा भारतीय राजदूत मञ्जिभ सिंह पुरी हुन् । कम बोल्ने धेरै काम गर्ने कुटनीतिज्ञको परिचय बनाएर नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउन सफल भए । दुवै देशको राजनीतिक तहसँग जोडिएर थाती रहेका कामहरूलाई गति दिएका छन् । उनले समन्वयकारी भूमिका निभाएर टाढिएका नेपाली नेताहरूलाई समेत निकट बनाइसके ।

पुरी निकै खटिनसक्छन् र विषयको गम्भीरता बुझेर सकारात्मक तरिकाले काम बढाउछन् । यही शैलीले देउवाको भारत भ्रमणले सफलता पायो । दुवै देशबीच विकासमा केन्द्रित रहेर योजना बढाउने र कार्यान्वयन गर्ने, सहयोग आदानप्रदान र दुवै देशबीचका उच्च तहको भ्रमणलाई निरन्तरता दिइरहने सहमति बनेको छ । देउवाको भारत भ्रमण र मोदीबाट नेपालमा हुने भविष्यको भ्रमणले दुई देशको सम्बन्धको बलियो जग स्थापित गर्नेछ । यसले दुवै देशको सम्बन्धलाई विकास र समृद्धीतर्फ ढाल्न गतिलो ऊर्जा मिल्नेछ ।



प्रतिक्रिया दिनुहोस्