Logo

‘काठमाडौँ–निजगढ दु्रत मार्गले समृद्धिको ढोका खोल्ने’ : रक्षामन्त्री प्रधान



काठमाडौँ, १५ भदौ । रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौँ–निजगढ दु्रत मार्गले मुलुकमा समृृद्धिको ढोका खोल्ने बताउनुभएको छ ।

ज्येष्ठ नागरिक समाज नेपालले आज यहाँ आयोजना गरेको काठमाडौँ जिल्ला शाखाको साधारणसभा उद्घाटन गर्दै उहाँले काठमाडौँ–निजगढ दु्रत मार्गले मुलुकमा समृद्धिको ढोका खोल्ने बताउनुभयो ।

“मुलुकको समृद्धि सरकारको प्राथमिकता हो, द्रुत मार्गलाई सरकारले मुलुकको समृद्धिसँग जोडेको छ, द्रुत मार्गले समृद्धिको ढोका खोल्छ,”– मन्त्री प्रधानले भन्नुभयो ।

उहाँले ज्येष्ठ नागरिकको सम्मानमा सरकारले सधैँ अग्रसरता देखाइरहेको भन्दै सबैले आफ्नो घरबाटै ज्येष्ठ नागरिकको सम्मानलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा मन्त्री प्रधानले दुई असल बुहारी र एक असल छोरीलाई प्रमाणपत्रसहित खादा ओडाएर सम्मान गर्नुभएको छ । सम्मानित हुनेमा बुहारीबाट पुष्पा नकर्मी र नानी छोरी महर्जन तथा असल छोरीमा आफ्नै बुबालाई कलेजो दिएर पुर्नजन्म दिने छोरी सरिता रहेकी छिन् ।

समाजका अध्यक्ष डिल्लीराम नकर्मीले ज्येष्ठ नागरिकका लागि सबैले उच्च प्राथमिकताका साथ सम्मान गर्नुपर्ने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्