Logo

डा. सुन्दरमणि दीक्षितले गरे प्रदेश नम्बर २ को चुनावका बारे सबैको चित्त बुझ्ने विश्लेषण



डाक्टर सुन्दरमणि दीक्षित पेशाले चिकित्सक भए पनि सामाजिक काममा पनि रुचि राख्दछन् । दीक्षितले पछिल्लो समय नागरिक समाजका अगुवाको परिचय समेत बनाइसकेका छन् । झण्डै पाँच दशकअघि एमडी गरेर नेपाल फर्केपछि विरामीको उपचार गर्दै आएका सुन्दरमणि दीक्षित दक्ष डाक्टर त हुँदै हुन् उनले आफ्नो पेशागत दायरा बाहिर निस्केर थुप्रै सामाजिक कामहरु गरेका छन् । वीर अस्पतालमा झण्डै २५ वर्षसम्म सबै निःशुल्क सेवा गरेका व्यक्ति हुन् दीक्षित । राजनीतिक घटनाक्रमलाई पनि दीक्षितले नजिकबाट नियाल्ने गरेका छन् । यतिखेर देश चुनावमा होमिएको छ । असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनावको सेरोफरोमा केन्द्रित रहेर ऋषि धमलाले दीक्षितसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रदेश नम्बर २ को निर्वाचनमा कुन एजेण्डा प्राथमिकतामा पर्नुपर्छ ?
यो निर्वाचन अत्यन्त महत्वपूर्ण छ । यो चुनावले राजनीतिक परिवर्तन मात्रै होइन, मधेशको भावना पनि उजागर गर्दछ । मधेशको संवेदनशीलतालाई चुनावले कसरी सम्बोधन गर्छ भन्ने कुरा महत्वपूर्ण छ । मुलुकको एकता र राष्ट्रिय अखण्डता कतिसम्म रहन्छ भन्ने कुरा पनि यो चुनावले देखाउँछ ।

प्रदेश नम्बर २ को चुनावमा कस्तो नतिजा आउला ? यहाँको विश्लेषण कस्तो छ ?
पहिलो कुरा, यदी मधेशमा प्रशस्त भोट खस्यो र ठूला तीन दलले नै जिते भने मधेशमा खासै मुद्दा रहेनछ भनेर बुझ्नुपर्छ । मधेश केन्द्रित दलहरुले जितेनन् भने मधेशमा असन्तुष्टीका मुद्दा रहेनछ भन्ने पुष्टी हुन्छ । दोस्रो कुरा, यदी अधिकतम भोट खस्यो र मधेश केन्द्रित दलले जिते भने त्यहाँको सेन्टिेमन्ट बलियो प्रजातान्त्रिक छ भन्ने बुझ्नुपर्छ । तेस्रो कुरा, चुनावमा एकदमै कम मतदाता सहभागि भए ठूला तीन दलहरुले जिते भने मधेशमा विखण्डनको स्थिती आउँन सक्छ । चौँथो कुरा, अति नै कम भोट खस्यो र त्यहाँका स्थानीय पार्टीहरुले जिते भने मुलुक यतातिर पनि जान सक्छ, उतातिर पनि जान सक्छ । अर्थात जनता दोधारमा छन् भन्ने बुझ्नुपर्छ । यो चारवटा विकल्प मैले देखेको छु ।

ठूला दलका शीर्ष दलका नेताहरु चुनावका बेला मधेशकेन्द्रित भएका छन् । यसलाई कसरी लिनुभएको छ ?
यो चुनावमा कुन पार्टीले जित्छ भन्नुभन्दा पनि मधेशको भावनालाई चुनावले सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने कुरा महत्वपूर्ण छ । बाढी पहिरोले पीडित जनताको घर दैलोमा आफ्नो स्वार्थ पूरा गर्नका लागि मात्र नेताहरु गएका छन् । उनीहरुको पिर मर्कालाई कसैले पनि सम्बोधन गर्न सकेका छैनन् । यि नेताहरु आफ्नो दुनो सोझ्याउनतिर मात्रै लागेका छन् ।

जनताले दुःख पाइरहेका छन् । दल र नेताहरु स्वार्थ प्राप्तीमा केन्द्रित छन् । यस्तो अवस्थमा नागरिक समाजको भूमिका कस्तो हुन सक्छ ?
नागरिक समाजले बोलेर केही हुँदैन । जनताले अनुभूति गर्नेगरी सरकारले राहत दिनुपर्छ । नागरिक समाजसँग जनतालाई राहत दिने क्षमता छैन । यो त सरकारको जिम्मेवारी हो । हामी त्यहाँ गएर वा बोलेर मात्र केही हुँदैन । त्यहाँ जाँदा त सबैलाई राहत बाड्न सक्नेगरी जानुपर्छ ।

डाक्टरहरु कोही पनि गएनन् भनेर गिरिराजमणि पोखरेलले गुनासो गर्नुभएको थियो ।
त्यहाँ गएर काम गर्ने जिम्मा हामी डाक्टरको होइन । स्वास्थ्यमन्त्रीले डाक्टर खटाउन सक्नुपर्छ । हामी निजी क्षेत्रका डाक्टरले त्यहाँ गएर उपचार गर्न सकिदैन । हामी कहाँ जाने ? हामीसँग औषधि पनि छैन । नेपाल मेडिकल एसोसियसन, काउन्सिल जस्ता संगठनले पनि गर्न सक्थे । कोही व्यक्ति वा नागरिकले गर्न सक्ने काम होइन ।

मधेशी जनताका लागि दल र सरकारले के गर्नुपर्छ भन्ने लाग्छ ?
मुख्य कुरा मधेशी जनतालाई सम्मान दिनुपर्छ । जनताको घरदैलोमा गएर दुःख बाँडिदिए मात्रै पनि धेरै राम्रो हुन्छ । तराई मधेशका जनताहरु सम्मान र पहिचानको भोका छन् । जहिले पनि हेपेर हुन्छ ? जनतालाई तिमीहरु भारतीय हौ, लखनउ, पटना जाऊ भनेर हुँदैन । उनीहरुलाई मेधशी होइन, नेपाली भनेर सम्बोधन गर्नुपर्छ ।

दल र तिनका नेताहरुले त मधेशी जनताको हितमा धेरै काम गरेका छौँ भनेर दाबी गर्छन् नि ?
चुनावका बेला जान्छन् । माधवकुमार नेपालको गतिविधि देखिरहेको छु । कुनैबेला सुशील कोइराला बाँके पुग्ुनभएको थियो । प्रचण्ड चितवन गएका थिए । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा त्यहाँका जनताको घरमा गएर सुते । यो सब एकैछिनका लागि र स्वार्थका लागि मात्रै जान्छन् । मधेशी जनताको भावना बुझ्न सकिएन भने सिके राउतको एजेण्डतिर मधेश ढल्किन सक्छ । त्यसैले मधेशी जनतालाई सम्मान दिन सक्नुपर्छ ।

बाबुराम भट्टराई लगायतका अन्य दलका केही नेताहरुले अहिले आएर कार्यकारी राष्ट्रपति चाहिन्छ भनेर भन्न थालेका छन् । यसलाई कसरी लिनुहुन्छ ?
हामीले संविधान बन्नेक्रममा यही आवाज उठाउँदा सुनिएन । अहिले आएर हामीले नै भनेका कुरा उठाइएको छ । कार्यकारी राष्ट्रपतिको पक्षमा त हामीले धेरै कार्यक्रम गरेका थियौँ । शक्तिमा हुँदा हाम्रा कुरा कसैले सुनेन । हारेपछि हामीले नै उठाएका मुद्दाको पछि लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्