Logo

तटबन्ध निर्माण : ठेक्का भयो, काम भएन



भीमदत्तनगर, २० भदौ । कञ्चनपुरमा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणमा करोडौँको बजेट विनियोजन गरिएको भए पनि निर्माणमा भने ढिलासुस्ती देखिएको छ ।

झण्डै एक दशकअघि सरकारले देशका अन्य क्षेत्रझै कञ्चनपुरको भीमदत्तनगरमा जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ स्थापना गरेर यहाँको महाकाली, दोदा, मोहना नदीको कटान नियन्त्रणमा लागि शुरुवातमा अग्रसरता देखाएको थियो । तर पछिल्ला दिनमा समयमै सम्झौता भएका कामसमेत निर्माण थालिएका छैनन् ।

एक दशकमा जनताको तटबन्ध कार्यालयले कञ्चनपुरमा झण्डै आठ किलोमिटर नदी किनारमा तटबन्ध निर्माण गरेको छ । गत वर्ष यहाँका विभिन्न स्थानमा नदी कटान नियन्त्रणका लागि तटबन्ध बनाउन ठेक्का सम्झौता भए पनि काम भने शुरु गरिएको छैन ।

जनताको तटबन्ध कार्यालय निर्माणको ठेक्का पाएका निर्माण कम्पनीले चालु आवमा काम सक्नेमा आशावादी देखिएको छ । गत आवमा कञ्चनपुरको दोदा नदीमा पर्ने डुंगाा क्षेत्रमा करिब रु एक करोडका लागतमा २५० मिटर तटबन्ध सोही वर्ष निर्माण भएको छ ।

त्यसैगरी कैलाली–कञ्चनपुरको सीमा मोहना नदीको राजघाट क्षेत्रमा रु दुई करोडको लगातका निर्माण हुने ६०० मिटर तटबन्धको ७० प्रतिशत काम सकिएको जनताको फिल्ड कार्यालयले जनाएको छ । त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकामा पर्ने मछेली नदी किनारमा गत वर्ष एक हजार ७०० मिटर तटबन्ध बनाउन निर्माण कम्पनीलाई जिम्मा दिइएको भए पनि निर्माण व्यवसायीले सात सयदेखि आठ सय मिटर तटबन्ध बनाएर काम अधुरो छाडेका छन् ।

जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ का इन्जिनियर वीरेन्द्रबहादुर चन्दले गत आवमा तटबन्धका लागि ठेक्का भएका काम चालु आवमा सम्पन्न हुने बताउनुभयो । “यी बहुवर्षीय योजना हुन्,” उहाँले भन्नुभयो– “ठेक्का प्रक्रियामा हुने ढिलाइले काम समयमा शुरु हँुदैन ।” आधा दर्जनभन्दा बढी स्थानमा गरी गत वर्ष ठेक्का सम्झौता भएको रु ५१ करोडभन्दा बढीको काम शुरु नै गरिएको छैन ।

कञ्चनपुरमा सबैभन्दा बढी नदी कटानले भीमदत्तनगरपालिका–११ भुजेला र दोदा नदीले शंकरपुर, डुंगा क्षेत्रमा कटान गरेको छ । भुजेलाको नदी कटान केही वर्षयता रोकिए पनि दोदा नदीमा भने वर्षेनी कृषियोग्य जमिन वर्षात्का बेला कटान हुने गर्दछ ।

गत वर्ष सम्झौता भएकामध्ये कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीमा रु १३ करोडको लागतमा बन्ने ४०० मिटर तटबन्ध निर्माण हुन बाँकी छ । त्यस्तै रु २३ करोडको लागतमा निर्माण हुने महाकाली नगरपालिकाको दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रमा ठेक्का भएको सात किलोमिटर तटबन्ध निर्माण शुरु नै भएको छैन भने भीमदत्तनगरपालिका–१३ मा रु १५ करोडको लागतमा बन्ने आठ किलोमिटर तटबन्ध निर्माण हुन सकेको छैन ।

महाकाली नदीमा वर्षात्का बेला आउने बाढीसँगै तत्कालको बचाऊका लागि अस्थायी तटबन्ध निर्माणले गति लिए पनि दीर्घकालीन रुपमा निर्माण हुने तटबन्ध निर्माणमा भने सरकारी बेवास्ता देखिएको नदी कटानबाट विस्थापित भएकाको गुनासो छ । विभिन्न नदी कटानबाट हालसम्म सयौँ परिवार विस्थापित भइसकेका छन् भने धेरै बस्ती अझै कटानको उच्च जोखिममा छन् । रासस



प्रतिक्रिया दिनुहोस्