Logo

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन : आज उम्मेदवारी दर्ता



काठमाडौं २१ भदौ । आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।देशभरका ७ सय ५३ स्थानीय तहमध्ये प्रदेश २ का आठ जिल्लाभित्रका १ सय ३६ स्थानीय तहमा मात्र निर्वाचन हुन बाँकी छ ।

तेस्रंो चरणमा प्रदेश नम्बर २ का १ महानगरपालिका, ३ उपमहानगरपालिका ७३ नगरपालिका र ५९ गाउँपालिकामा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । सबै तहबाट गरी ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।

प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले सबै तहमा आ-आफ्ना उम्मेदवार तय गरिसकेका छन् ।निर्वाचन आयोगले उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले उम्मेद्वारी मनोनयनको दर्ताको तयारी पूरा भएको र निर्भिकताका साथ उम्मेद्वारी दर्ता गर्न आग्रह गरे ।

सम्बन्धित स्थानीय तहमा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउनुपर्ने छ । राजनीतिक दलले प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिँदा एक पदमा अनिवार्य रुपमा महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था छ ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा ३१ हजार ५ सय कर्मचारी परिचालन हुने निर्वाचन आयोगले जनाएको छ । यो निर्वाचनमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता सहभागी हुँदै छन् ।

त्यसका लागि २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ वटा मतदान केन्द्र तोकिएको छ । यसअघि पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ र दोस्रो चरणमा असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्