Logo

गणतन्त्र आएको १० वर्षको अनुभवले राजसंस्था र हिन्दुराष्ट्रको आवश्यकता देखियो : डा. प्रकाशचन्द्र लोहोनी



डा. प्रकाशचन्द्र लोहनी नेपालका राजनीतिज्ञ र अर्थशास्त्री हुन् । पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय डा. लोहनी अहिले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा दृढ भएर उभिएका छन् । अर्थमन्त्रीको समेत अनुभव लिइसकेका लोहोनीले हिन्दुराष्ट्र र राजसंस्था स्थापित गराउने उद्देश्यसहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी नामको नयाँ दल संगठित गरेका छन् । उनै लोहोनीसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निर्वाचनका बेला आन्दोलन किन गर्न लाग्ुनभएको ?
देशमा अहिले भ्रष्टाचार बढेको छ । त्यसको विरोध पनि हो । देशमा कुनै किसिमको आर्थिक नीति छैन । नेपालीलाई विदेश पठाउने काम मात्रै भइरहेको छ । अबको १० वर्षभित्र कोही पनि नेपाली कामका लागि विदेश जानु नपर्ने वातावरण बनाउनका लागि हामीले सरकारलाई दबाब दिन लागेका हौँ ।

नेपालमा भ्रष्टाचार किन मौलाएको होला ?
वास्तवमा सरकारमा भ्रष्टाचार बढेको होइन । सरकार नै भ्रष्टाचारलाई संस्थागत गरेको छ । सरकारले भ्रष्टाचारलाई नै जीवनपद्धति बनाउन खोजिरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु संसद, संसदीय समिति, मन्त्रालय र मन्त्री सबै भ्रष्टाचारको पक्षमा देखिएका छन् । त्यसैले भ्रष्टाचार मौलाएको हो ।

यसलाई रोक्नका लागि के गर्नुपर्ला ?
भ्रष्टाचार रोक्नका लागि सबै पक्षबाट भ्रष्टाचारविरुद्ध आवाज उठ्नुपर्छ । भ्रष्टाचार र अन्याय बढ्यो भनेर नै हामीले आवाज उठाउन लागेका हौँ ।
हामीले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर पनि आन्दोलन गर्न लागेका हौँ । नेपालमा मानिने सबै धर्मको सम्मान र पहिचान स्थापित गर्दै हिन्दुराष्ट्र बनाइनुपर्छ ।

नेपाललाई हिन्दुराष्ट्र बनाउन कसरी सम्भव छ ?
पहिलो संविधानसभाले संविधान बनाउने क्रममा जनमत संकलन गरेको थियो । त्यसबेला प्राप्त भएका २ लाख लिखित जनमतमध्ये ९० प्रतिशतले नेपाललाई हिन्दुराष्ट्र कायम राख्नुपर्छ भनेर सुझाब दिएका थिए । जनमत नै हिन्दुराष्ट्रको पक्षमा छ भने सम्भव किन हुँदैन ।

देशका प्रमुख दलहरु हिन्दुराष्ट्र बनाउने कुरामा सहमत छैनन् नि ?
दलको कुरा होइन, जनताको रायलाई समेट्नुपर्छ । २ लाख जनमत कहाँ लुकाइएको छ ? त्यसलाई खोलेर हेरियोस् । प्रमुख दलहरुले भनेर मात्रै केही हुँदैन ।

हिन्दुराष्ट्रको पक्षधरहरु नै एक आपसमा मिल्न सकेका छैनन् । कसरी हिन्दुराष्ट्र बनाउन सक्नुहुन्छ ?
राप्रपाले हिन्दुराष्ट्रको मुद्दालाई उपेक्षा गरेकाले म अलग्गिएको हुँ । सबै सत्ताको लागि झगडा गरे । पार्टीको मुद्दा ओझेलमा पारे । त्यसैले म एजेण्डा बोकेर बाहिरिएको हुँ ।

राजसंस्था र हिन्दुराष्ट्र त असम्भव कुरा होइन र ?
संविधान संशोधन गर्न मिल्छ । राजपाको मागमा संशोधन गर्न दलहरु लम्पसार भएर लाग्न सक्छन् भने राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा पनि लाग्न सक्नुपर्छ । हामी यो एजेण्डा लिएर जनतासमक्ष पनि जान्छौँ । गणतन्त्र आएको १० वर्षसम्मको अनुभवले पनि राजसंस्थाको आवश्यकता देखिएको छ ।

यतिबेला त निर्वाचन आयोगले आचारसंहिता लगाएको छ । यसले कस्तो प्रभाव पार्ला ?
निर्वाचन आचारसंहितालाई कसले वास्ता गरेको छ र ? आचारसंहिता पालना गर्नुपर्छ ।

चुनावमा भाग लिनुहुन्न ?
हामीले पनि चुनावमा भाग लिएको छौँ । तर हामीलाई स्थानीय तहको चुनावका लागि नयाँ दलको रुपमा चुनाव चिन्ह दिइएको छैन । अब प्रदेश र संसदको चुनावमा हामीले दलको मान्यतासहित चुनाव चिन्ह पनि पाउँछौँ । त्यसबेला चुनाव चिन्ह लिएर नै चुनावमा सहभागि हुन्छौँ ।

प्रदेश नम्बर २ को चुनावमा तपाईको दल कसरी सहभागि भएको छ ?
चुनाव चिन्ह नभएकाले केही स्थानीय तहमा स्वतन्त्र चुनाव चिन्ह लिएर चुनावमा सहभागि भएका छौँ । केही ठाउँमा अन्य दलसँग चुनावी तालमेल पनि गरेका छौँ ।

तपाईको दलको चुनावी एजेण्डा केके छन् ?
हाम्रो दलको चारवटा एजेण्डा छन् । नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने एजेण्डासँगै राजसंस्था चाहिन्छ भन्ने पनि हाम्रो एजेण्डा रहेको छ । राष्ट्रिय चरित्र बोकेको राजसंस्थाको उपस्थिती नेपालका लागि अति आवश्यक छ । तेस्रो एजेण्डा भ्रष्टाचारविरुद्ध हो । चौथो एजेण्डा भनेको अबको १० वर्षभित्र नेपालमै रोजगारी सृजना गर्ने हो । कोही पनि नेपाली कामको लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने हाम्रो एजेण्डा हो ।

चुनावमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन सक्नुहुन्छ ?
तपाईको यो कुरालाई गलत सावित बनाएर देखाइदिन्छौँ ।



प्रतिक्रिया दिनुहोस्