Logo

आफ्नै देशका जनतालाई युपी र विहारको भनेर भन्ने एमालेलाई जनताले भोट दिँदैनन् : चौधरी



जनकपुर, २२ भदौ । नेपाल लोकतान्त्रिक फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीले एमाले संविधान संशोधनको विरोधी पार्टी भएकोले जनताले एमालेलाई भोट दिनै नसक्ने दाबी गरे । उनले भने,‘एमाले मधेशी जनतालाई दिन हुन्न भन्ने पार्टी हो, उसले संशोधनको जहिल्यैपनि विरोध नै गरिरह्यो, उसले संशोधनको विपक्षमा मत हालेको छ, त्यसैले उसलाई जनताले भोट दिँदैनन्।’

चौधरीले आफ्नो पार्टीका अध्यक्ष एवम् वर्तमान उपप्रधानमन्त्री विजयकुमार गच्छदार नै संविधान जारी गर्दाका मुख्य सूत्रधार भएको जिकिर गरे । उनले थपे,‘१६ बुँदे गराएर प्रमुख दलहरुलाई संविधान जारी गर्दा एक ठाउँमा ल्याउने व्यक्ति नै हाम्रो पार्टीका अध्यक्ष हुनुहुन्छ।’ त्यस्तै उनले पछिल्लो समय संविधान संशोधनको पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत एक ठाउँमा उभ्याउन नेता गच्छदारले मुख्य भूमिका निर्वाह गरेको बताए ।

त्यस्तै उनले मधेशको विकास र समृद्धिको लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताए । उनले भने,‘मधेशको विकासको लागि हाम्रो पार्टीले विगतदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ, भोलिका दिनमा पनि हामी सशक्त भूमिका निर्वाह गर्नेछौं।’

चौधरीले एमालेले मधेशी जनतालाई युपी र विहारको भनेर संज्ञा दिएको उल्लेख गर्दै भने,‘आफ्नै देशका जनतालाई युपी र विहारको भनेर भन्ने एमालेलाई जनताले भोट दिँदैनन्, एमाले मधेशप्रति अनुदार पार्टी हो।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot