Logo

निर्माणाधीन आयोजना समयमै सक्नेगरी कार्ययोजना बनाउन निर्देशन



काठमाडौँ, २२ भदौ । ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण तथा प्राधिकरणअन्तर्गतका कम्पनीबाट निर्माणाधीन जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।

जलविद्युत् आयोजनाको पछिल्लो अवस्थाबारे जानकारी लिन मन्त्रालयले आज आयोजना गरेको बैठकमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले जलविद्युत् आयोजनामा देखिएको समस्याबारे आफूले पहल गर्ने जनाउँदै गम्भीरतापूर्वक तोकिएकै समयमा काम सम्पन्न गर्नका लागि सबै उपाय अवलम्बन गर्न निर्देशन दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरण तथा प्राधिकरणअन्तर्गत रहेका ११ जलविद्युत् आयोजनाका प्रमुखसँग आयोजनाको प्रगति विवरणबारे मन्त्री शाहीले जानकारी लिनुभएको थियो ।

सरकारी लगानीमा माथिल्लो तामाकोशी, चमेलिया, कुलेखानी तेस्रो, रहुघाट, माथिल्लो त्रिशूली थ्री ए, तल्लो सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी, मध्य भोटेकोशी, तनहुँ र माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाका प्रमुखले बैठकमा वन, स्थानीय जनताको मुआब्जा वितरण र ठेकेदारबाट देखिएका समस्या प्रस्तुत गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्