Logo

ठूला दलले सत्ता, सेना र पैसाको बलले मधेशमा रजाई गर्न खोजे : उपेन्द्र यादव



भदौ २४, काठमाण्डौ । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ लाई अन्य प्रदेशबाट अलग गरेर तेस्रो चरणको चुनावमा लगिएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहरमा ऋषि धमलासँग कुरा गर्दै यादवले प्रदेश नम्बर २ का जनतालाई घेराबन्दी गरेर यस क्षेत्रका जनतालाई राज्यले बेग्लै तरिकाले लिएको बताए ।

चुनावी अभियानका क्रममा प्रदेश नम्बर २ मा रहेका अध्यक्ष यादवले प्रदेश नम्बर २ लाई फरक क्षेत्रका रुपमा लिनु खतरनाक भएको टिप्पणी गरेका छन् ।
प्रदेश नम्बर २ का जनता आफ्नो पक्षमा रहेको दाबी गर्दै अध्यक्ष यादवले भनेका छन्, “जनता आफ्नो पक्षमा भएकाले चुनाव जित्न गारो छैन ।”

टिकट वितरणलाई लिएर आफ्नो दलभित्र कुनै असन्तुष्टी नभएको यादवको जिकिर छ । मधेशका जनताको हितमा लाग्ने पार्टीको रुपमा संघिय समाजवादी फोरमले पहिचान बनाएको बताउँदै यादवले यस क्षेत्रमा चुनाव लड्नका लागि कुनै पनि दलसँग तालमेल गर्न आवश्यक नरहेको बताए ।

यसअघिको पहिलो र दोस्रो चरणको चुनावमा भाग लिदा आफ्नो पार्टीलाई तल्लो स्तरमा झरेर गाली गर्ने दलहरु पनि अहिले चुनावमा सहभागि भएको भन्दै यादवले हिजो गाली गर्ने दलहरु पनि फोरमको पछि लागेको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेस, कम्युनिष्ट, माओवादी सबै दललाई मधेशी जनताले विगतमा बोकेका उदाहरण दिदै यादवले तिनै दलले मधेशीलाई भने हेप्ने र विभेद गर्ने काम गरेको आरोप लगाए ।
ठूला दलले सत्ता, सेना र पैसाको बलले मधेशमा रजाई गर्न खोजेको आरोप यादवले लगाएका छन् ।
अवसरको अभाव, गरिबी, रोगी, बेरोजगार जस्ता समस्याले मधेश ग्रस्त भएकाले अब त्यसलाई परिवर्तन गर्नुपर्ने यादवको भनाई छ । ठूला भनिएका दलहरुको वेवास्ताका कारण नै मधेशमा धेरै समस्या जन्मिएको आरोप यादवले लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्