Logo

प्रदेश नम्बर २ बाट नेपाली बहस प्रत्यक्ष प्रशारण, मतदाता भन्छन्, विकासवादी नेतालाई भोट



भदौ २४, काठमाण्डौ । मधेशका जनताहरु निर्वाचनका लागि निकै उत्साहित देखिएका छन् । नेताहरुको घरदैलो कार्यक्रमलाई जनताले खुलेर साथ दिएको पाइएको छ । रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाले प्रदेश नम्बर २ मा पुगेर जनतासँग गरेको अन्तरक्रियामा मतदाताले आफूहर चुनावका लागि तयार भएको बताएका छन् ।

नेताहरुले अझै पनि जनतामाझ झुटा आश्वासन बाँड्न नछाडेको तर जनताहरु भने नयाँ आशा लिएर उम्मेदवारलाई विश्वास गरेका छन् ।
कलैयाका राजु शाह भन्छन्, “अब विकासका एजेण्डा ल्याउनेलाई भोट हाल्नका लागि जनता तयार छन् । पुरानो शैलीको आश्वासन बाँड्ने नेतालाई अब जनताले भोट दिदैनन् ।”
पुराना नेतालाई विश्वास गर्न नसकिने भन्दै नयाँ र विश्वासिलो अनुहार हेरेर मतदान गर्ने मधेशी जनताको योजना छ । अहिलेसम्म नेताहरुले मधेशको विकासमा कुनै चासो नदिएको जनताको आरोप छ ।

ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहस कलैयाबाट प्रत्यक्ष प्रशारण गरेका थिए । प्रत्यक्ष प्रशारणमा कुरा गर्दै अर्का एक मतदाता तथा स्थानीय नागरिक समाजका अगुवा हिरालाल शाहले भने, “चुनावको माहौल धेरै तातेको छ । सबै पक्षमा चुनावमा होमिएकाले उत्साह बढाएको छ ।”
शाहले मधेशी दल अझै पनि सबै एकजुट हुन नसकेकाले कांग्रेस र एमाले नै बलियो देखिएको बताए । तर कांग्रेस र एमालेले जति धाक लगाए पनि मधेशी दलले नै मधेशको एजेण्डा बोकेको शाहको तर्क छ ।

उमेश गुप्ताका अनुसार पनि चुनावी माहौल तातिएको छ । विकासवादी नेतालाई मतदान गर्न मतदाता आतुर रहेको गुप्ताले बताए ।
कलैयाको सडकबाटै प्रत्यक्ष प्रशारणमा कुरा गर्दै एक सर्वसाधारणले चारवटा दलबिचमा मुख्य प्रतिस्पर्धा देखिएको बताए । अहिलेसम्म अधिकारको नाममा मधेशी जनताले केही नपाएको गुनासो सर्वसाधारणले गरेका छन् ।

ऋषि धमलासँग सडकबाट प्रत्यक्ष प्रशारणमा जोडिएका सबैजसो जनताले मधेशमा विकासको खाँचो रहेको बताएका छन् । स्थानीय तहको चुनावको माहोल उत्साहजनक भएको सबैजसो मतदाताले बताए ।



प्रतिक्रिया दिनुहोस्