Logo

सबै दल अहिले माओवादीको एजेण्डामा हिँडिरहेका छन् : नेता राम आधार



जलेश्वर, २५ भदौ । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आ–आफ्नो जितको सुनिश्चित भएको दाबी गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले महोत्तरीको जलेश्वरमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै मेयरका उम्मेद्धवारहरुले यस्तो दाबी गरेका हुन् ।
क्लबका सभापति ऋषि धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साक्षात्कारमा बोल्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्व सांसद रामकुमार शर्माले माओवादीले मधेश र मधेशी जनताको अधिकार स्थापित गराउन प्रभावकारी भूमिका निर्वाह गरेको बताए ।

शर्माले जलेश्वर नगरपालिकाका मेयरका उम्मेद्धवार कौशल ईन्द्र शर्माको तर्फबाट उनका चुनावी घोषणापत्र र योजनाहरु सार्वजनिक गरिदिएका थिए ।

उनका अनुसार मेयरका तर्फबाट गर्ने कामहरुमा जलेश्वरका सडक सञ्जालहरु स्तरीय बनाउने, विकासमा टेवा पुर्याउने र यहाँका जनता र नगरपालिकालाई समृद्ध बनाउने रहेको छ । त्यस्तै शववाहनको व्यवस्था गर्ने र सिचाईको लागि वर्षमा एकपटक निशुल्क ट्रयाक्टरको व्यवस्था गर्ने पनि माओवादीका मेयरका उम्मेद्धवारको भनाई रहेको उनले जानकारी गराए ।

त्यस्तै कार्यक्रममा रजापका महासचिव सुरेश पाण्डेले आफूहरुले अहिलेको चुनावलाई आन्दोलनकै रुपमा उपयोग गरिरहेको विश्वास दिलाए । उनले आफूहरुको माँग संविधान संशोधन नगरीकन चुनावमा होम्याउनु भनेको आफूहरुलाई चेपुवामा पार्ने काम भएको समेत गुनासो पोखे ।

कार्यक्रममा नेपाली कांग्रेसका मेयरका उम्मेद्धवार अशोक साहले आफू मेयरमा विजयी भए जलेश्वरको समग्र विकासमा योगदान पुर्याउने बताए । त्यस्तै उनले

उक्त नगरपालिकाका जनताहरुको स्तरोन्नती र खानेपानी, सरसफाई, सिँचाई लगायतका विकासका क्षेत्रमा योगदान दिने विश्वास दिलाए ।

उनले कांग्रेसले मधेशको लागि धेरै काम गरेको भन्दै यो पटकको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने समेत उनले दाबी गरे ।

त्यस्तै माओवादी केन्द्रका नेता राम आधारले देश अहिले माओवादी केन्द्रको एजेण्डामा चलेको स्पष्ट पारेका छन् । उनले थपे,‘देश अहिले माओवादी केन्द्रको एजेण्डामा चलिरहेको छ, यसमा कुनै दुईमत छैन, चाहे चुनावको कुरा गर्नुहोस, या मधेशी जनतालाई अधिकारसम्म बनाउने वा संविधान संशोधनमार्फत समस्याको हल गर्ने कुरा भन्नुहोस, यी सबै एजेण्डा माओवादीले बोकेर हिँडिरहको छ, मधेशी जनताको लागि काम गर्ने पार्टी भनेको नै हाम्रो पार्टी हो।’

उनले २ नम्बर प्रदेशको निर्वाचनमा जनताले माओवादी केन्द्रलाई जिताएर पहिलो पार्टी बनाउने विश्वास दिलाए । उनले भने,‘अहिले मधेशमा माओवादीप्रति ठूलो जनलहर छाएको छ, त्यसैले हाम्रो पार्टीले अत्यधिक मतले विजयी हाँसिल गर्छ।’

कार्यक्रममा एमालेबाट मेयरका उम्मेद्धवार माधव मण्डल र राजपाबाट मेयरका उम्मेद्धवार शंकर मिश्रले पनि आफ्ना एजेण्डाहरु सार्वजनिक गरेका थिए । उनीहरुले आफू विजयी भए जलेश्वरलाई समृद्ध बनाउने उद्धघोष गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्