Logo

२ नम्बर प्रदेशमा आफ्नो पार्टीले १०० सिट जित्ने सांसद डा. महतोको दाबी



‘एमाले शतप्रतिशत संघीयता विरोधी पार्टी, उसले मधेशमा भोट माँग्ने नैतिक धरातल गुमाईसकेकोे छ’
सिरहा (कर्जन्हा), २६ भदौ । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् केन्द्रिय सदस्य डा. विरेन्द्र महतोले २ नम्बर प्रदेको चुनावमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले सिरहाको कर्जन्हास्थित् उनकै निवासमा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै सांसद डा. महतोले १ सय ३६ स्थानमध्ये एक सय स्थानमा आफ्नो पार्टी विजयी हुने दाबी गरेका हुन् ।

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न उक्त साक्षात्कारमा बोल्दै नेता महतोले सिरहामा आफ्नो पार्टी र माओवादी केन्द्रवीच नै कडा प्रतिष्पर्धा हुने स्पष्ट पारे । यद्धपी उनले माओवादी केन्द्रसँग प्रतिष्पर्धा भएपनि आफ्नो पार्टीका उम्मेद्धवार विजयी हुने ठोकुवा गरे ।

डा. महतोले अघि भने,‘हाम्रो पार्टीले अहिले २ नम्बर प्रदेशमा हुन गैरहेको चुनावी अभियानलाई सुक्ष्म ढंगले नियाँल्दा हामीले लगभग पहिलो पार्टी हुने प्रारम्भिक आँकलन गरेका छौं, यद्धपी यो हाम्रो दाबी मात्रै हो, चुनावी परिणाम नआएसम्म यही नै हो भनेर ठोकुवा गर्न भने अहिल्यै नै सकिँदैन र त्यो अनुचित पनि हुन्छ, ८ वटै जिल्लामा हामीले गरेको चुनावी सर्वैक्षणका आधारमा हामीले लगभग सय स्थानमा विजयी हुने आँकलन गरेका छौं।’

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मधेश विरोधी पार्टी भएको समेत आरोप लगाए । महतोले अघि थपे,‘एमाले मधेश र मधेशी जनताको विरोधी पार्टी हो, मधेशी जनताले ६ महिना लामो आन्दोलन गर्दा एमालेको गतिविधि घामजस्तै छर्लङ्ग भएको छ, त्यतिमात्रै होईन संविधान जारी गर्दा असन्तुष्ट पक्षहरुको माँग सम्बोधन गर्न खासगरी संविधानको सर्वस्विकार्यता बढाउनको लागि संशोधन गर्ने भनेर ठूला दलहरुले संसदमा सार्वजनिक प्रतिबद्धता नै व्यक्त गरेका थिए, तर जब संशोधनको कुरा उठ्यो एमालेले धोका दियो, उसले विपक्षमा भोट हाल्यो।’

यद्धपी महतोले मधेश र मधेशी जनताहरुको लागि ठूला पार्टीहरु सँधै अनुदार नै रहेको आरोप लगाए । उनले थपे,‘सरकारमा रहेका बेला प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको व्यवहार हामीले देखेका छौं, मधेशी जनतामाथि तीन वटै दलहरुले दमन गरेकै हुन्, सयौं मधेशी जनता मारिए तर संविधान संशोधनमार्फत हाम्रा माँग सम्बोधन गर्न उनीहरुले चाहेनन्।’

महतोले एमालेका शीर्ष नेताहरुले खासगरी अध्यक्ष केपी शर्मा ओलीले मधेशप्रति हेपाहा प्रवृत्ति राखेर सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गर्दै भने,‘एमालेका शीर्ष नेताहरुले हेपेर बोल्नुभयो, कहिले विहारी भन्नुभयो, कहिले धोती भन्नुभयो, कहिले पाकेको आँप भन्नुभयो, त्यसैले हाम्रो सहकार्य एमालेसँग हुनै सक्दैन्।’

त्यतिमात्रै नभएर उनले एमालेले संविधान संशोधन प्रस्तावलाई राष्ट्रघातीको संज्ञा समेत दिएको भन्दै असन्तुष्टि जनाए । उनले थपे,‘हामीले त धेरै केही माँगेका थिएनौं नि, अन्तरिम संविधानमा उल्लेख गरिएका कुराहरुलाई यो संविधानमा पनि समेटौं भनेका हौं, तर एमालेजनहरुले यो प्रस्तावलाई पूरै राष्ट्रघाती देख्नुभयो, विडम्बना समस्याको समाधान गरेर मुलुकलाई अघि बढाउने ‘सेफ ल्याण्डिङ्’ गर्ने बेलामा उहाँहरु चुक्नुभयो।’

महतोले एमालेलाई परिवर्तन नचाहने संघीयता विरोधी पार्टीको संज्ञा दिए । उनले थपे,‘म दाबाका साथ भन्छु, एमाले सय प्रतिशत संघीयता विरोधी पार्टी हो, मधेशमा उसले भोट माँग्ने कुनै नैतिक धरातल बाँकी छैन्, अब कुन मुखले मधेशी जनतासँग भोट माँग्न आउने होला? मलाई त आश्चर्य लागेको छ।’

उनले सिरहाका ८ नगरपालिकामध्ये ६ वटा नगरपालिकामा आफ्नो पार्टीका उम्मेद्धवार विजयी हुने समेत दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्