भदौ २६, काठमाण्डौ । पछिल्लो समय शेयरबजारले गति लिन नसकिरहेको बेला साताको पहिलो दिन आइतबार ३४ दशमलव ८९ अंकले भारी मात्रामा ओरालो लागेको थियो । साताको दोस्रो दिन भने नेप्से परिसुचक ३ दशमलव ६ शून्य अंकले बढेको छ । समग्रमा शेयरबजार शून्य दशमलव दुई चार प्रतिशतले सुधार आएको छ ।
सोमबारको कारोबारमा नेप्से परिसुचक ३ दशमलव ६ शून्य अंकले उकालो लागेर १ हजार ५ सय २३ दशमलव २६ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । परिसुचक बढेसँगै आइतबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचकपनि शुन्य दशमलव ४४ अंकले उकालो लागेर ३ सय १९ दशमलव ६७ अंकमा बन्द भएको छ ।
आइतबार ९२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा सोमबार १६० कम्पनीको ८४ करोड १३ लाख ३४ हजार ३८९ रुपैयाँको शेयर किनबेच भएको छ । सोमबार ७ हजार ७ सय ७७ पटकको कारोबारबाट १७ लाख १७ हजार १ सय ३९ कित्ता शेयरहरुको किनबेच भएको छ । आइतबार सबै समूहको परिसुचक घटेको बजारमा सोमबार कारोबार भएका आठ समूहमध्ये बैंकिङ, फाइनान्स र अन्य बाहेकका पाँच समूह बढेका छन् ।
सोमबार बीमा समूहको परिसूचक सबैभन्दा धेरै ८१ दशमलव २५ अंकले उकालो लागेर ८ हजार ४ सय ४२ दशमलव ९४ अंकमा बन्द भएको छ । त्यसैगरी होटल समूह ३५ दशमलव ५६ अंकले, उत्पादन तथा प्रशोधन समूह ३० दशमलव ६९ अंकले, विकास बैंक ११ दशमलव ०८ अंकले र जलविद्युत समूह ६ दशमलव ३८ अंकले उकालो लागेको छ । त्यसैगरी सोमबार वाणिज्य बैक १ दशमलव ३९ अंकले, फाइनान्स समूह शुन्य दशमलव ६४ अंकले र अन्य १ दशमलव १६ अंकले ओरालो लागेको छ । सोमबार नबिल बैंक लिमिटेडको सबैभन्दा बढी १० करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी सोमबारको कारोबारमा गत आर्थिक वर्षको मुनाफाबाट ३१ प्रतिशत बोनस दिने घोषणा गरेको एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको शेयर मूल्य ९ दशमलव ७९ प्रतिशतले बढेको छ । त्यसैगरी सबैभन्दा धेरै गुमाउनेमा छ्याङ्दी हाइड्रोका लगानीकर्ता रहेका छन् । जसको शेयर मूल्य ६ दशमलव २१ प्रतिशतले ओरालो लागेको छ ।