Logo

सुरक्षा संयन्त्र समन्वयात्मक रुपमा परिचालन गर्नुस् : आयोग



काठमाडौँ, २६ भदौ । निर्वाचन आयोगले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सबै सुरक्षा संयन्त्र समन्वयात्मक रुपमा परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोग उच्चस्तरीय सुरक्षा समितिको आजको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनमा मतदाता र उम्मेदवारसहित सबैमा सुरक्षाको प्रत्याभूति दिलाई ढुक्क हुने वातावरण बनाउन, उपयुक्त समयसम्म सीमा बन्द गर्न, मतदान केन्द्रमा प्रवेश गर्दा उच्चस्तरीय जाँचको प्रबन्ध मिलाउन र मतदान केन्द्रमा पर्याप्त उद्धार टोलीको व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

डा यादवले तराई÷मधेसमा बाढी, डुबान र कटानका कारण यातायात अवरुद्ध भएकामा छोटो समयमै सेनाले पुनः निर्माण गरी आवागमन सहज तुल्याएको बताउँदै भन्नुभयो, “नेपाली सेनाको यो कार्यबाट बाढी प्रभावित मधेशका जनता र नेपाली सेनाबीच आत्मीयता अभिवृद्धि भएको छ ।

आयुक्त ईश्वरीप्रसाद पौड्यालले सुरक्षा निकायले राजनीतिक दलका कार्यकर्ताबीच हुन सक्ने अन्तरद्वन्द्व घटाउन र खुला सिमानाको संवेदनशीलतालाई विचार गरी कार्यसम्पादन गर्न सुझाव दिनुभयो । आयुक्त सुधीरकुमार शाहले नेपाली सेनाले छोटो समयमा यातायात सहज बनाउन पाएको सफलताप्रति आभार व्यक्त गर्नुभयो ।

कामु प्रधानसेनापति बलदेवराज महतले स्थानीय तह निर्वाचनका लागि सबै सुरक्षा निकायबीच समन्वयात्मक रुपमा काम भइरहेको र सुरक्षाको सबै प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।

आयोगका सचिव वेगेन्द्र शर्माले केन्द्रदेखि स्थानीय तहसम्म सुरक्षा अंगबीच निरन्तर सम्पर्क, सहकार्य र समन्वयात्मक रुपमा काम गर्नुपर्ने औँल्याउनुभयो ।

आयोगका प्रवक्ता नवराज ढकालले बाढी, डुबान र कटानबाट प्रदेश नं २ का जिल्लामा आवागमन अरुद्ध भएकामा सेनाले पुनः निर्माण द्रुतगतिमा गरिरहेको बारे जानकारी दिँदै अधिकांश जिल्लामा यातायात सञ्चालन गर्ने कार्य सम्पन्न भएको तथा बाँकी जिल्लामा यही भदौ २८ गतेसम्ममा यातायात सञ्चालन गरी मतदानलाई सहज बनाउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।

सो अवसरमा आयुक्त इला शर्मा र नरेन्द्र दाहाल, गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिव श्रीधर सापकोटा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी पनि सहभागी हुनुहुन्थ्यो । रासस



प्रतिक्रिया दिनुहोस्