Logo

मधेशी जनताले एमालेलाई बढारेर फाल्छन् । ढुक्क हुनुस् : विमलेन्द्र निधी



प्रदेश नम्बर २ को चुनावको मुखमा आएर सबैजसो दल र तिनका नेताहरुले आफु मधेशी जनताको हितको पक्षमा रहेको दाबी गरेका छन् । आफ्नो पार्टीले मधेशको हितमा सधैँ आवाज उठाएकाले यस पटकको चुनावमा आफ्नै पार्टी सबैभन्दा ठूलो दल बन्ने बताइरहेका छन् । चुनावलाई लक्षित गरी नेताहरु मधेशमा सक्रिय छन् । तिनैमध्येका नेपाली कांग्रेसका शीर्ष नेता विमलेन्द्र निधी पनि अहिले प्रदेश नम्बर २ को चुनावका लागि प्रचारप्रसारमा व्यस्त छन् । उनै निधीसँग ऋषि धमलाले कुराकानी गरेका छन् । निधीसँग धमलाले गरेको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रदेश नम्बर २ मा नेपाली कांग्रेसको अवस्था कस्तो पाउनुभयो ?
प्रदेश नम्बर २ मा नेपाली कांग्रेसको अवस्था धेरै राम्रो छ । स्थानीय स्तरका नेता कार्यकर्तादेखि केन्द्रिय तहका नेताहरु सक्रिय रुपमा चुनावमा खटिएका छन् । यो प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी बन्छ ।

कांग्रेसभित्रको आन्तरिक कलहले चुनावको नतिजा प्रभावित हुने देखिन्छ । कसरी सबैभन्दा ठूलो दल बन्नुहुन्छ ?
नेपाली कांग्रेसभित्र आन्तरिक कलह छैन । उम्मेदवार चयनमा सबै जिल्ला सभापति, क्षेत्रिय सभापति, सांसद र यस क्षेत्रका केन्द्रिय सदस्यहरुसँग गहन छलफल गरिएको थियो । शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शशांक कोइरालासहितको एकमतबाट उम्मेदवार चयन गरिएको हो ।

प्रदेश नम्बर २ मा विकास निर्माणका काम हुन सकेको छैन । तपाई मन्त्री भइसकेको नेता । नेपाली कांग्रेसलाई मतदाताले केको आधारमा भोट दिन्छन् ?
म शुशील कोइरालाको नेतृत्वको सरकारमा भौतिक योजना तथा यातायात मन्त्री थिँए । त्यसबेला पर्सादेखि बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी लगायतका जिल्लामा धेरै सडक संजाल विस्तार गरेको छु । प्रादेशिक सडक, रणनीतिक सडक लगायतका शीर्षकमा सडक निर्माण गरेको थिँए ।
केही सडक निर्माणको काम भइरहेको छ । तर प्रभावकारी रुपमा काम भएको पाइदैन । कर्मचारीतन्त्रको चासो र चिन्ता ज्यादै कम देखिन्छ नि ?
जनप्रतिनिधिको अभावमा राम्रोसँग निगरानी हुन नसकेको हो । अब स्थानीय तहको निर्वाचनपछि त्यस्ता समस्याको अन्त्य हुन्छ । नेपाली कांग्रेसका उम्मेदवारलाई जनताले भोट दिएर जिताउनुभयो भने विकास निर्माणका काममा कुनै बाधा हुँदैन ।

प्रदेश नम्बर २ मा तपाईहरुले अधिकारको एजेण्डा अघि सार्ने कि विकासको ?
२ नम्बर प्रदेश मधेशी जनताको बाहुल्यता भएको ठाउँ हो । मधेशी जनताको अधिकारका लागि संविधान संशोधन गर्न नेपाली कांग्रेस तत्पर थियो । तर नेकपा एमालेले साथ दिएन । त्यसैले राजनीतिक रुपमा नेपाली कांग्रेसलाई मधेशी जनताले भोट दिए भने मधेशी जनताको अधिकार सुनिश्चित गर्न सक्छ । मधेशीको आवश्यकता अनुसार संविधान संशोधन हामी गछौँ । अर्को विकासको एजेण्डा हो । एउटा मात्रै एजेण्डालाई हामीले प्राथमिकता दिएका छैनौँ ।

राष्ट्रियता बलियो बनाउनका लागि एमालेलाई भोट दिनुपर्छ भनेर एमालेका नेताहरुले भनिरहेका छन् । एमालेलाई भोट जान सक्दैन ?
नेकपा एमालेका नेताहरुले ते मधेशी जनतालाई नेपाली नै ठान्दैनन् । त्यसकारण मधेशी जनताले एमालेलाई जिताउने त कुरै छैन । मधेशी जनताले एमालेलाई बढारेर फाल्छन् । ढुक्क हुनुस् ।

यसअघिको दुई चरणको चुनावमा त जनताले एमालेलाई भोट हाले नि त ?
एमालेले जनतालाई झुक्याएर मत ल्याउन सफल भएको हो । अहिले त एमाले मधेशी जनताको विरोधी हो भन्ने कुरा घामको उज्यालो जस्तो सफा रुपमा देखिएको छ । संविधान संशोधनको विपक्षमा कसले मतदान ग¥यो ? कांग्रेसले त संविधान संशोधनका लागि अग्रसरता लियो । त्यसैले कांग्रेस मधेशी जनताको मित्र शक्ति हो । एमालेका मधेशी नेता त अहिले निरिह अवस्थामा छन् । बोल्न पनि सकेका छैनन् । अब चाँही जनताले राम्रोसँग बुझेका छन् ।

एमालेका नेता माधवकुमार नेपालले आफू मधेशको धर्तिपुत्र भएको भन्दै भोट मागिरहनुभएको छ । अरु नेताहरु पनि मधेशकेन्द्रित भएका छन् । यसलाई कसरी लिनुहुन्छ ?
माधवकुमार नेपाल मधेशबाट नै चुनाव जित्नुभएको नेता हो । तर उहाँले मधेशी जनताको हितमा केही काम गर्न सक्नुभएको छैन । मैले तपाईकै कार्यक्रममा उहाँको कुरा सुनेको थिएँ । हुलाकी राजमार्ग आफैले सुरु गरेको झुटो कुरा बोल्दै हुनुहुन्थ्यो । हुलाकी राजमार्ग त गिरिजाप्रसाद कोइरालाको पालामा सुरु भएको हो । पछि सुशील कोइरालाको पालमा म भौतिक योजनामन्त्री हुँदा बाँकी काम अगाडि बढाएको हो । केपी ओली, माधव नेपाल लगायतका एमालेका नेताहरुले त मधेशको अधिकार र विकासको विरोध मात्रै गरेका छन् ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै बजेट तराई मधेशका लागि दिइएको थियो नि ?
यो सब पुरानो र झुटो कुरा हो । नेपाली कांग्रेसले गरेका विकास निर्माणका कामको जस एमालेले लिन खोजिरहेको छ । काम केही नगर्ने तर सबै मेले गरेको भन्ने बानी एमालेका नेताको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot