Logo

उपेन्द्र यादव र विजयकुमार गच्छादारलाई पनि राजपामा सामेल गराउने तयारी



भदौ २८, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले मधेशीको हक अधिकार सुनिश्चित गर्नका लागि सबै मधेशवादी शक्ति एक हुनुपर्नेमा जोड दिएका छन् । उपेन्द्र यादव र विजयकुमार गच्छादार पनि राजपामा नै सामेल हुनुपर्ने आवश्यकता सुमनले औँल्याएका छन् । त्यसका लागि प्रयास भइरहेकोसमेत सुमनले खुलाए ।
“उनीहरुको हामीलाई इन्तजार छ । सम्झाई बुझाई भइरहेको छ ।” सुमनले भने ।
२ चरणको स्थानीय निकायको चुनावको नतिजापछि यादव र गच्छादारको भ्रम टुटेको सुमनले टिप्पणी गरेका छन् । मधेशीलाई गोली हान्ने र अर्यादित शब्दले गाली गर्ने दलका नेताको पछाडि लागेर यादव र गच्छादारले गल्ती गरेको सुमनको भनाई छ ।

राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमन

प्रदेश नम्बर २ मा चुनावको उत्साह बढेसँगै राजपाप्रति जनताको आकर्षण पनि बढ्दै गएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले मधेशका जनताले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रप्रति असन्तुष्टी जनाएको दाबी गर्दै नेता सुमनले संविधान निर्माण गर्दा मधेशीलाई उपेक्षा गरिएको आरोप मधेशी जनताले तीन दललाई लगाएको जिकिर गरे ।

राजपाले संविधान गरेर मधेशी जनताको अधिकार सुनिश्चित गराउनका लागि धेरै प्रयास गरे पनि त्यो पूरा नभएको उल्लेख गर्दै नेता सुमनले अधिकार प्राप्तीको लडाई जारी रहेको बताए ।
आन्दोलनसँग जोडिएको अधिकांश माग पूरा भएको तर दीर्घकालिन माग पूरा हुन नसकेको नेता सुमनको तर्क छ ।  प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावपछि जनाधार तय गर्ने र त्यसपछि हुने संसद र प्रदेशको चुनावले संविधान संशोधनको अधार तय गर्ने नेता सुमनको तर्क छ ।

प्रदेश नम्बर २ मा नेकपा एमाले पत्तासाफ हुने सुमनको अर्को टिप्पणी छ । कतिपय स्थानमा एमालेले उम्मेदवार नै नपाएको र उम्मेदवार भएको ठाउँमासमेत प्रचार प्रसार गर्न नसकेको सुमनले बताए ।
कांग्रेस र माओवादीलाई पनि मधेशी जनताले संविधानमा अधिकार स्थापित गर्न नसकेको आरोप लगाएकाले जनमत घटेको सुमनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्