Logo

थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दल बन्ने यस्तो छ नेकपा मालेको तयारी



भदौ २८, काठमाण्डौ । नेकपा मालेका महासचिव सिपी मैनालीले प्रदेश र संसदको चुनावमा जनसमाजवादी पार्टीसँग मिलेर चुनाव लड्ने तयारी भइरहेको जानकारी दिएका छन् । जनसमाज पार्टीका अध्यक्ष सुवासराज काफ्ले हुन् । यस पार्टीमा कुल ६५ सदस्यीय केन्द्रीय कार्य समिति छ भने सात प्रदेशका सात उपाध्यक्ष, एक महासचिव रहेका छन् ।
हसिया तारा चुनाव चिन्ह लिएर चुनावमा जाने मैनालीले बताएका छन् । ३ प्रतिशत थ्रेसहोल्ड पार गरेर राष्ट्रिय पार्टी बन्ने मैनालीको दाबी छ । प्रत्यक्षतर्फ पनि १ सिट जित्न कुनै समस्या नरहेको उनको भनाई छ । अन्य पार्टीहरु जनमोर्चा, नेमकिपा र एमालेलगायतका दलसँग चुनावी तालमेल गरेर चुनाव लड्ने तयारी भइरहेको मैनालीले बताए ।
प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा आफ्नो पार्टीबाट १ सयभन्दा बढि उम्मेदवार खडा गरिएको जानकारी दिएका छन् । रेडियो कार्यक्रम नेपाली बहसमा कुरा गर्दै महासचिव मैनालीले आवश्यकता अनुसार उम्मेदवार तय गरिएको बताए । मधेशमा उम्मेदवार दिन लायक व्यक्ति र ठाउँ हेरेर उम्मेदवार दिइएको मैनालीको भनाई छ ।
सरकारले मधेशी जनताको हक अधिकार सुनिश्चित गर्ने भनि ल्याएको संविधान संशोधनको प्रस्ताव उचित नभएकाले समर्थन नगरेको बताउँदै नेता मैनालीले संविधान संशोधन केका लागि ल्याइएको थियो भन्ने कुरा मधेशी जनताले बुझेकाले त्यसको परिणाम चुनावले दिने तर्क गरेका छन् ।
सबै दलसँग सहमति गर्ने प्रयत्न नै नगरी ल्याइएको संशोधन प्रस्ताव समस्याका निकास नै नभएको मैनालीको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्