Logo

मृतक ताम्राकारको परिवारलाई न्याय नदिईए आन्दोलन गर्ने बाईकर्स संघको चेतावनी



मृत्तककी श्रीमती भन्छिन्,‘घाईते नै नभएको मान्छेलाई ब्याक गरेर मारियो, यो दुर्घट्ना होईन हत्या हो’

काठमाडौं, २८ भदौ । बाईकर्स संघ नेपालले गत भदौ ७ गते नेपाल विद्युत प्राधिकरण अगाडि भएको दुर्घट्नामा मारिएका गौतम ताम्राकारको परिवारलाई उचित न्यायको लागि आन्दोलन गर्ने चेतावनी दिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा बाईकर्स संघ नेपालले पत्रकार सम्मेलन गरेर उक्त दुर्घट्नामा मारिएका ताम्राकारको उचित न्याय र प्रभावकारी सवारी ऐन निर्माणको लागि कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघका सचिव मोदनाथ भण्डारीले ताम्राकार दुर्घटनाको नाममा हत्याको शिकार भएको टिप्पणी गरे । उनले भेने,‘ताम्राकारकी श्रीमती पछाडि बस्नु भएको थियो, उहाँ बाँच्ने अनि ताम्राकार मर्ने हुन्छ ? सडकको छेउमा बाईक पल्टिएको अवस्थामा फेरि बल जफ्त किचेर मारेको प्रष्ट छ, यसमा सरकार किन गम्भिर बन्दैन?’

उनले अघि थपे,‘यदि तत्काल ताम्राकारको परिवारका सम्बोधन गर्न सकेन र सवारी ऐन बनाएर दुर्घट्नाको नाममा हत्या गर्ने चालकलाई जन्मकैदको कानुन बनाईएन भने हामी कडा आन्दोलन गर्नेछौँ।’

भण्डारीले २०४९ सालको कानुन अहिलेको अवस्थामा काम नलाग्ने स्पष्ट पारे । उनले अघि थपे,‘सवारी ऐनले कारवाही नगर्ने निश्चित् छ, हामी कारवाहीको लागि संविधानको धारा १६१ को उपधार १ लागु गरेर मृतक ताम्राकारको हत्या गर्ने सावारी चालकलाइ हदैसम्मको कारवाही गर्नको लागि संघ यातायात र राज्यका निकायको बिरुद्धमा लड्न तयार छ।’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले ताम्राकारलाई जबरजस्ती गाडीले किचेर मार्ने सवारी चालकलाई हदैसम्मको कारवाही गर्न सरकारसँग माग गरे ।
उनले भने,‘हालको सवारी ऐनले सवारी दुर्घनालाई अन्त्य गर्न सक्दैन, म प्रधानमन्त्री, यातायतमन्त्रीसँग पनि गौतमको बारेमा कुरा गर्छु, तपाईहरु नथाक्नुहोस्, हामी तपाइको साथमा छौँ, कुनैपनि हालतमा सवारी दुर्घट्नाको नाममा गरिने हत्यालाई निर्मुल पार्न नयाँ प्रभावकारी कानुन बनाउन दबाब दिनुपर्छ।’

सवारी ऐन बनाउने र लापर्वाही गर्ने जो कोहीलाई हदैसम्मको कार्वाही गर्नुपर्ने बताउदै धमलाले भने,‘गौतम ताम्रकारकी श्रीमती जसरी यहाँ आफ्ना कुरा राख्नुभयो, ती कुराले हामीलाई मर्माहत बनायो्, मलाई केही भएको छैन्, मलाई बाँच्न देउ भन्दा भन्दै यसरी यत्रो ठूलो अपराध गरिन्छ भने सरकारले किन नयाँ र प्रभावकारी कानुन नबनाउने?’

कार्यक्रममा मृतक ताम्राकारकी श्रीमती अनिता ताम्राकारले दुर्घट्नाको नाममा आफ्ना श्रीमानको हत्या भएको आरोप लगाईन् ।

गोठाटार यातायातको गाडीको ठक्करबाट सडक किनारमा पल्टिएको स्कुटरको पछाडी रहेकी श्रीमती ताम्राकारले गाडीले ठक्कर दिएको अवस्थामा श्रीमानलाई कुनैपनि चोट नलागेको स्पष्ट पारिन् । उनले अघि थपिन्,‘जतिबेला दुर्घट्ना भएको थियो, त्यतिवेला उहाँलाई केही भएको थिएन, तर बलजफ्ती गाडी चालकले ढलेको स्कुटरमाथि गाडी चलाएर हत्या गरियो।’

भक्कानिँदै ताम्राकारले भनिन्,‘त्यो दिन अलिकति जाम थियो, हामी विद्युत प्राधिकरणको अघि पुगेका थियौँ, रोकिएको स्थितिमा एक्कासि गाडीले हान्यो, त्यसपछि हामी सडक किनारमा पल्टियौँ, म अलि पर पुगें, श्रीमान त स्कुटी नजिकै हुनुहुन्थ्यो, त्यतिबेलासम्म केही पनि भएको थिएन, त्यसपछि बलजफ्ती स्कुटर र श्रीमानमाथि गाडी चलायो, अनि मारियो, यो हत्या नभएर के हुन्छ ? अब हामी यस्ता दुर्घट्नाको नाममा हुने हत्याको बिरुद्धमा उभिएका छौ, सबैलाई साथ दिनको लागि आग्रह गर्दछौँ।’

त्यस्तै कार्यक्रममा मृतक ताम्राकारका मामा सुदयराज स्वर्णकारले गरिब र कमजोर मानिसको लागि राज्यमा कानुन नभएको गुनासो पोखे ।

उनले भने,‘हामी भान्जाको न्याय र यस्ता दुर्घट्नाको नाममा हुने हत्यालाई निरुत्साहित गर्नको लागि आवाज उठाउँदैछौँ, भनसुनको भरमा मात्रै काम हुने, आफ्नाहरुलाई मात्रै राज्य सरकारले हेर्ने हो भने हामीजस्ता नागरिकलाई किन नागरिक भन्नुपर्यो?’

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्