Logo

सूचनाका आधारमा व्यापारीमाथि अनुसन्धान भइरहेको छ : आपूर्तिमन्त्री मण्डल



काठमाडौँ, २८ भदौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले मुलुकमा राजश्व ठगी गर्ने व्यवसायीलाई केही दिनभित्र सरकारले सार्वजनिक गर्ने बताउनुभएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चको १२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री मण्डलले ठूला व्यापारी तथा उद्योगीमाथि शतप्रतिशत सूचनाका आधारमा अनुसन्धान भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा कानुन छ तर कार्यान्वयन पक्ष फितलो छ । कानुन लागू गर्ने सन्दर्भमा इराक र कुवेतको अभ्यास अवलम्बन गर्नुपर्छ ।”

ठगी गर्ने व्यापारीले अनुगमनमा जाँदा आफूहरुको गल्ती नस्वीकार्ने बरु ‘यस्ता मन्त्री कति आए कति’ भन्ने जवाफ दिने गरेको बताउँदै मन्त्री मण्डलले भन्नुभयो, “म जति दिन मन्त्रीको हैसियतमा रहन्छु प्रचलित ऐन, नियमअनुसार जनताको पक्षमा काम गर्छु ।”

आपूर्ति मन्त्रालयका निमित्त सचिव मुकुन्दप्रसाद पौडेलले चाडपर्वका समयमा सर्वसाधारण जनतालाई कुनै पनि बहानामा ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने र त्यसका लागि उपभोक्तावादी संघ संस्थाको एकताको खाँचो रहेको बताउनुभयो ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अनुगमनमा दोषी पाइएका व्यवसायीमाथि कडा कारबाही गर्न नसकिएकाले बजार अराजक बन्दै गएको बताउनुभयो । देशका विभिन्न ७० जिल्लामा मञ्चले सञ्जाल विस्तार गरेको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्