Logo

काँग्रेसको केन्द्रीय टोली आज सर्लाही र रौतहटमा, गगन भने सात ठाँउमा पुग्ने



काठमाडौ, २९ भदौ । चुनावी सभाका लागि नेपाली काँग्रेसको केन्द्रीय टोली आज सर्लाही र रौतहट पुग्ने भएको छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले आज सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उहाँहरुले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्नुहुनेछ र अपरान्ह ४ बजे रौतहटको रौतहटको गरुढा चिनी मिलको मैदानमा हुने आमसभालाई संबोधन गर्नुहुनेछ ।
सभामा देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव लगायतले सम्बोधन गर्ने कार्यक्रममा रहेको काँग्रेस प्रचार प्रसार उपसमितिको तर्फबाट रौतहट प्रतिनिधि अजबाबु सिवाकोटीले जानकारी दिनुभयो ।

रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि देउवा सहितको टोली पर्साको वीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम रहेको छ । वीरगन्ज र बाराको कलैयामा भोली काँग्रेसको आमसभा हुने भएकाले आज बेलुका उहाँहरु वीरगञ्ज बस्नुहुने भएको काँग्रेसले जनाएको छ ।

काँग्रेसको शिर्ष टोली हिजो धनुषाको जनकपुरधाम र महोत्तरीको बर्दिवासमा भएका चुनावी सभामा सहभागी भएको थियो ।

काँग्रेसका अर्का प्रभावशाली नेता गगनकुमार थापा भने आज एकैदिनमा रौतहट, बारा, पर्सा र सर्लाहीमा हुने सात ओटा कार्यक्रममा सहभागी हुनुहुने भएको छ । रौतहटको गजरा नगरपालिकामा अहिले विहान नौ बजे चुनावी सभा हुन लागेको छ भने रौतहटकै विजयपुर, कथहरीया नगरपालिकामा पनि कार्यक्रम हुनेछ ।

त्यसपछि उहाँ आजै बाराको कोल्भी, सर्लाही र पर्साका विभिन्न ठाँउमा हुने कार्यक्रमहरुमा सहभागी हुनुहुने भएको छ ।

प्रदेश नं २ का आठवटै जिल्लामा आफ्ना उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न चुनावी सभा गर्ने क्रममा काँग्रेसले महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा चुनावी सभा सम्पन्न गरिसकेको छ ।

भोली अन्तिमदिन दिउसो १ बजे बाराको कलैयामा र त्यसपछि पर्साको बीरगञ्जमा चुनावी सभा आयोजना हुने भएको छ । त्यसपछि प्रधानमन्त्री देउवाको टोली भोली नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्