माननीय शक्ति बस्नेत ज्यु नमस्कार,
तपाईको पार्टीले आन्तरिक विवादका बाबजुद जब २०७२ कार्तिक १ गतेका दिन गृहमन्त्रीका रुपमा खड्ग प्रसाद ओली नेतृत्वको सरकारमा तपाईलाई पठाउने निर्णय समाचारमा सुनें, साँच्चीकै म खुसीले पागल भएको थिए ।
एउटा दुर्गम र पिछडिएको भुगोलको सन्तान राज्यको महत्वपुर्ण हैसियतमा पुग्नु नै जाजरकोटीको लागि गर्वको क्षण थियो । त्यो ऐतिहासिक दिनमा जाजरकोटका लाखौं सोझा र गरीब जनताको झुपडीमा खुसीको प्रकाश गाढा भएको थियो ।
जगजाहेर छ, जाजरकोटको सीधा पहुँच राज्यसँग कहिल्यै थिएन र छैन । तर, तपाई देशकै शक्तिशाली व्यक्ति पुष्पकमल दाहालसँग तपाईको निकटको दुरी रहेको यथार्थ आम जाजरकोटीलाई थाह छ ।
यसर्थ पनि तपाई गृहमन्त्री हुने खबरले जाजरकोट र जाजरकोटबासी प्रशस्त खुसी हुनुपर्ने कारण थियो । किनकी प्रचण्डसँग निकट सम्बन्ध भएकै कारण तपाईले आम जाजरकोटी जनताको हितका लागि धेरै भन्दा धेरै थोक गर्नसक्नु हुन्थ्यो ।
जब तपाईलाई जाजरकोट क्षेत्र नम्बर १ बाट यहाँका जनताले भारी मत दिएर विजय गराए नि तपाईलाई लाखौं जनताले भोट दिएर जिताउनुका पछाडी उनीहरुका थुप्रै आशा र अपेक्षाहरु थिए ।
कैयौं गरीब जनताका सपनाहरु त तपाईले नै दश वर्षे द्वन्द्वकालमा बाँड्दै हिड्नु भएको थियो । तपाई र तपाईको पार्टीले यहाँका गरीबका झुपडीमा रोपेका सपनाहरुले पुनः मलजल पाए जतिखेर तपाई एक गृहमन्त्रीका रुपमा मन्त्रीमन्डलमा सहभागी हुनुभो ।
देशको सुरक्षा व्यवस्था तर्फकै सर्वोच्च पदमा जाजरकोटका तर्फबाट तपाई पहिलो पल्ट पुग्नु नै हामी जाजरकोटीको गौरवको विषय थियो । अर्को कुरा, प्रतिष्ठित पद र शक्तिमा पुग्दा जाजरकोटी जनताले पाउन सक्ने संभावित थप लाभको अपेक्षाका कारण पनि जाजरकोटी जनताहरुको नाकको लम्बाई बढेको थियो ।
अव ग्राउन्ड रियालिटीको कुरा गरौं, तपाई गृहमन्त्री बन्दैमा जाजरकोटको विकास हुनु थिएन । तपाई देशकै प्रभावशाली व्यक्ति प्रचन्डको निकट हुदैमा राजधानीले जाजरकोटलाई निकटको व्यवहार गर्थेन ।
तरपनि तपाईले चाहनु भएको भए र तपाईले जाजरकोटको लागि केही इच्छाशक्ति देखाउनु भएको भए अवश्य पनि पहिलेको जाजरकोट र अहिलेको जाजरकोट जनताले महसुस गर्ने गरी परिवर्तन भएको हुने थियो ।
तपाई गृहमन्त्री भैसकेपछि जाजरकोट र यहाँका जनताको अवस्था चटक्कै भुलिदिनुभयो, यहाँका जनताले सदियौं देखि भोग्दै आएको पीडा विर्सिदिनु भयो । यहाँको बाटोघाटो, यहाँका रोगी र भोका नाङ्गा जनताको पीडा, बेरोजगारीको समस्या, अशिक्षित जाजरकोटीको जीवनशैली आदि सबै भुलिदिनु भयो ।
तपाई सांसद या गृहमन्त्री भैसकेपछि जाजरकोट र यहाँका जनताले ‘वा क्याबात् ’ भन्न लायक कति वटा काम गर्नुभयो रु माननीय पूर्व मन्त्री ज्यू देखाउनु सक्नुहुन्छ ? ल ठिकै छ, हामी जनताले देख्न सकिने काम गर्नसक्नु भएन विविध कारणले, त्यो पनि मान्न सकिएला । उसो भए जाजरकोटी जनताका लागि नीतिगत रुपमा फाईदा हुने के के काम गर्नुभयो भन्नसक्नु हुन्छ ?
अब केही दिनपछि नै प्रदेश तथा प्रतिनिधी सभाको चुनाव सम्पन्न हुदै छ । फेरि पनि जनतासँग भोट माग्न त जानु नै हुने होला । त्यतिबेला जाजरकोटका दुरदराजमा पुग्नु भयो थाहा पाउनु होला, केही गरौं भन्ने भावना र केही गर्न सक्ने आत्मविश्वास भएका युवाहरु गाउँमा छैनन् । गरीबी र बेरोजगारको समस्या दिन प्रतिदिन बढ्दो छ । कतिपय गाउँहरुमा दशैंमा खाने चामल छैन रु गाउँघरमा शारीरिक रुपमा कमजोर बालबालिका, बृद्ध–बृद्धाहरुको संख्या बढी छ । यो अवस्थामा गाउँ र समाजको विकास कसरी हुनसक्ला ? केही भन्न सक्नुहुन्छ ?
बडो दुःख लाग्छ, माननीय ज्यू, कतै तपाईका सल्लाहकारहरुले गलत सल्लाह र सुझाव दिएर तपाईलाई विगारेका त होईनन् रु तपाई गृहमन्त्रीमा बहाल रहँदा थुप्रै विवादास्पद कुराहरु समाचारमा सुन्न पाईन्थ्यो । कतिपयले त तपाईलाई त्यतिबेला सम्मकै असक्षम गृहमन्त्रीको समेत “ट्याग” भिराए । जाजरकोटमा बसेर त्यस्ता समाचार सुन्दा जाजरकोटी हुनुको नाताले खुब दुःख लाग्थ्यो, दिक्दारीले सताउथ्यो । तपाईसँग मेरो व्यक्तिगत चिनजान नभएपनि कम्तीमा जाजरकोटी माटोको सन्तान हुनुले पनि मलाई छटपटी हुन्थ्यो ।
माननीय ज्यू, तपाईलाई जाजरकोटको निश्चित सर्कलले बौद्धिक र भद्र नेताका रुपमा समेत परिभाषित गर्ने गरेको बेलाबखत सुन्ने गर्छु । तपाईको भाषण तथा वक्तव्यहरु सुनेर तपाईको व्यक्तित्वबाट म पनि प्रभावित भएको छु । तर, मीठा भाषणले मात्रै जनताको आँशु र पीडा नघट्ने रहेछ । चिल्ला कुराले भोका नाङ्गा जनताको भोक पूरा नहुने रहेछ ।
कृपया, तपाईप्रति जाजरकोटी जनताको अझै पनि आशा र भरोसा घटेको छैन । तपाई जाजरकोट भन्दा माथि उठेर देशको लागि चिन्ता गर्ने हैसियतको नेता हो तर, हामी जाजरकोटीलाई सर्वप्रथम हाम्रै चिन्ता छ, घरमा साँझ विहानको छाक टार्नु छ, बाआमाको च्यातिएको कपडा फेर्नु छ, चुहिने झुपडीमा छानो हाल्नु छ, छोराछोरीको नयाँ लुगा लगाउने रहर पूरा गर्नुछ ।
सामान्य पुल नहुदा ज्यान गुमाउनु पर्ने हाम्रो नियती, स्कुल जान हिडेका बालबालिका भीरको बाटोबाट ज्यान गुमाउदाका पीडा, बाआमाको चाउरी परेको मुहारमा हाँसो ल्याउन खाडी उड्नुपर्ने हाम्रो बाध्यता, दशैं मान्नकै लागि साहुको गोठालो बस्नुपर्ने गरीबहरुको व्यथा सुन्नुभएको छ कहिल्यै रु
जतिसुकै भोको र नाङ्गो भएपनि, मुटूभित्र जतिसुकै पीडाको ज्वारभाटा दन्किएपनि अझै पनि जाजरकोटीहरु तपाईलाई स्वागत र सत्कार गर्न थोरै पनि हिचकिचाउने छैनन् । आउनुस्, जाजरकोटका कुना र कन्दराका झुपडीहरुमा तपाईले भव्य आतिथ्य पाउनुहुनेछ ।
तर, मेरो मनमा अहिले पनि खुलदुली भैरहेको छ– अब जाजरकोटी जनताको झुपडीमा पुग्दा तपाई के आश्वासन दिएर जानु होला ? र, जनतालाई फेरि पनि नयाँ ढंगले आश्वासन बाँड्दै गर्दा तपाईको मनमा कस्तो खालको सन्तोष प्राप्त होला र ?