Logo

कसैबाट पनि मानवअधिकारको उल्लंघन हुनुहुदैन



काठमाडौँ, ३० भदौ । राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनको क्रममा बालबालिकाको प्रयोग रोक्नका लागि निर्वाचन आयोगले गरेको प्रयास निकै सकारात्मक रहेको बताएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका मोहना अन्सारी तथा निर्वाचन आयुक्त इला शर्मा र ईश्वरीप्रसाद पौड्यालबीच आज निर्वाचन आयोगमा भएको भेटवार्तामा सरकारी वा गैरसरकारी संघ संगठन मानवअधिकारको रक्षाका लागि कार्य गर्न प्रतिबद्ध रहनुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँहरुबीच असोज २ गते हुन लागेको प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको तयारी र निर्वाचन सञ्चालन तथा प्रचारप्रसारका क्रममा मानव अधिकारको उल्लंघन हुन नदिनका लागि निर्वाचन आयोगले गरेको प्रयासका बारेमा केन्द्रित रहेर छलफल भयो ।

साथै सो अवसरमा दुबैपक्षबीच निर्वाचनमा मतदाता, उम्मेदवार तथा निर्वाचनमा खटिने कर्मचारीको सुरक्षालगायतका विषयमा छलफल भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा आयुक्त इला शर्माले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सञ्चालन गर्नका लागि निर्वाचन आयोगले लागू गरेको आचारसंहिता सबै क्षेत्रबाट पालना हुनुपर्ने र यस विषयमा राष्ट्रिय मानवअधिकार आयोगको भूमिका महत्वपूर्ण रहने विचार व्यक्त गर्नुभयो ।

आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगबीच भएको समझदारीअनुसार मानवअधिकार आयोगबाट निर्वाचनमा मानव अधिकारको सम्मान गर्ने सम्बन्धमा भएका प्रयासले निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सञ्चालन गर्न मद्दत पु¥याएको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्