Logo

‘सरकारले आचारसंहिता उल्लंघन गरेकै छैन’ : गृहमन्त्री शर्मा



काठमाडौं, ३१ भदौ । गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशमा असोज २ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले सरकारले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाउँदै मतदाताहरुको सुरक्षाको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरिएको पनि स्पष्ट पारे ।

उनले भने,‘आम मतदाताहरुको सुरक्षाको लागि सरकारले आवश्यक सुरक्षाको प्रबन्ध गरिसकेको छ, सुरक्षाकर्मीहरुलाई परिचालन गरिसकेको छ, म यही रिपोर्टर्स क्लब नेपालको मञ्चबाट जनताहरुमा अपिल गर्न चाहन्छु–कि ढुक्क भएर आफ्नो मत हाल्नुहोस्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री शर्माले २ नम्बर प्रदेशका आम मतदाताहरु मत हाल्नको लागि उत्साहित रहेको बताउँदै भने,‘मतदाताहरु स्वयम्ले मोहोर लगाउन हामी आँतुर छौं भनेर भन्नुभएको छ, सरकारले सबै मतदान केन्द्रहरुमा शान्ति, निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेको छ, यही अनुसार मतदान सम्पन्न हुन्छ।’ उनले निर्वाचन सुरक्षाको पहिलो आधार नै जनताहरुको उत्साह भएको स्पष्ट पारे ।

गृहमन्त्रालयले निर्वाचन सुरक्षाको लागि केन्द्रि सुरक्षा निति अनुसार नै जिल्ला स्तरमा सुरक्षा योजना कार्यान्वयन गरिसकेको र जस अनुसार पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा नेपाली सेना र राष्ट्रिय अनुशन्धानलाई घटाईएको मन्त्री शर्माले जानकारी दिए ।

निर्वाचन मौन अवधि सुरु भैसकेकोले अहिले सबै खाले निर्वाचन प्रचारप्रसार कार्य बन्द भएको पनि उनले जनाए । यो वर्ष निर्वाचन वर्ष भएकोले स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्नले आगामी प्रदेश र प्रतिनिधि सभाको दुई वटा निर्वाचनको सफल रुपमा सम्पन्नताको सुनिश्चित गर्ने विश्वास गर्दै शर्माले भने,‘त्यसैले यो निर्वाचनको मतदान प्रक्रियालाई सम्पन्न गर्नको लागि आम मतदाताहरुको उल्लेखनीय सहभागिता होस् र सबै दलहरुको पनि जिम्मेवारी हो।’

सरकारकै जिम्मेवार मन्त्री तथा अधिकारीहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् भनेर आयोगले भनिरहेको छ, तपाई के भन्नुहुन्छ भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘सरकारले आचारसंहिताको पूर्ण रुपमा पालना गरेको छ, कोही कसैबाट भएको छ भने यसको अनुगमन गर्ने काम निर्वाचन आयोगको हो नि, अनुगमन गर्नुपर्यो नि, हुन त उहाँहरुले गरिरहनुभएको छ ।’ मन्त्री शर्माले निर्वाचन आयोगलाई जस्तोसुकै सहयोग गर्नपनि आफूहरु तयार रहेको प्रतिबद्धता जनाए ।

उनले कर्मचारीहरुको सरुवा पनि आयोगको स्विकृति लिएर नै गरिएको स्पष्ट पारे । उनले भने,‘हालै गरिएको मन्त्रिमण्डल विस्तारमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाजीले आयोगसँग समन्वय गर्नुभएको होला भन्ने मेरो विश्वास छ।’

त्यस्तै उनले निर्वाचन अत्यन्तै खर्चिलो र भड्किलो भएको भनेर पनि गुनासो छ नि भनेर सोधिएको अर्को प्रश्नमा भने,‘निर्वाचनलाई खर्चिलो बनाउनुहुँदैन्, कानुनी र व्यवहारिक रुपमा यसको सही उपयोग गर्नुपर्छ, यसप्रति सरकार पूर्ण रुपमा सचेत छ।’

२ नम्बर प्रदेशका आठ वटै जिल्लाहरु भारतीय सिमावर्ती क्षेत्रमा पर्ने भएकोले मतदानको बेला कुनैपनि अप्रिय घट्ना र अपराधजन्य क्रियाकलाप नहोस् भनेर मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि नै सबै नाकाहरु सिल गरिसकिएको पनि उनले जानकारी दिए । शर्माले थपे,‘काउन्टरपार्टले पनि मद्दत गरेको छ, र सहयोग गर्ने सहमति भैसकेको छ, उहाँहरुसँग कुरा भएको छ।’

उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्नताले संविधान कार्यान्वयनको बलियो जगलाई पूर्णता दिने बताए । मन्त्री शर्माले थपे,‘हुन त यो निर्वाचनको बारेमा धेरैको प्रश्न र जिज्ञासाहरु थिए, तर जनताले जवाफ दिईसकेका छन्, आम मतदाताहरु मत हाल्नको लागि व्यग्र प्रतिक्षामा हुनुहुन्छ।’

रोहिंग्या शरणार्थी नेपाल आएर काठमाडौंको कपनमा करिब ४ सय जना बसेको पाईयो नि यसबारेमा तपाईको धारणा के छ भनेर सोधिएको एक प्रश्नमा मन्त्री शर्माले भने,‘मैले पनि यसबारेमा सुचना पाएको छु, गृहप्रशासन यसबारेमा पूर्ण रुपमा सजग छ, नीजी जग्गा लिएर घर निर्माण गरेको पनि सुचना आएको छ, हामीले सतर्कता अपनाएका छौं।’

उक्त विषयको बारेमा आफूले अध्ययन गर्न विशेष मातहातलाई आवश्यक निर्देशन समेत दिईसकेको उनको भनाई थियो । उनले थपे,‘अब थप आउन नदिने र आएकाहरुलाई फिर्ता पठाईन्छ।’



प्रतिक्रिया दिनुहोस्