Logo

‘चन्द्रगंगा क्रियाशील पत्रकारिता पुरस्कार’ बजगाईंलाई



भक्तपुर, १ असोज : प्रेस चौतारी नेपाल भक्तपुरले यस वर्षको ‘चन्द्रगंगा क्रियाशील पत्रकारिता पुरस्कार’ सोम शर्मा बजगाईंलाई प्रदान गरेको छ ।

चौतारी भक्तपुरद्वारा आज यहाँ आयोजित पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य, ‘नेपाल टेलिभिजन’का भक्तपुर संवाददाता, ‘समय समाज’ साप्ताहिकका सम्पादक र ‘भक्तपुर एफएम’का कार्यक्रम सञ्चालक बजगाईंलाई नेकपा (एमाले) प्रचार एवं प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले रु सात हजारसहित पुरस्कार प्रदान गर्नुभयो ।

क्रियाशील पत्रकारमध्येबाट एक जनालाई हरेक वर्ष प्रदान गर्ने गरी समाजसेवी एवं अधिवक्ता राजु खड्काले आफ्ना माता गंगा र पिता चन्द्रबहादुरका नाममा यसै वर्ष स्थापना गरेको रु ५० हजार राशिको अक्षयकोषबाट सो पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा एमाले सचिव भट्टराईले नेपाली काँग्रेसले पूँजीवादी र एमाले समाजवादी तर्फको बाटामा अगाडि बढेकाले दुई पार्टीको सहकार्य अब नहुने बताउनुभयो । उहाँले भन्नुभयो,“देशमा अब एमाले र काँग्रेस पार्टी मात्रै प्रतिद्वन्द्वीको रुपमा रहन्छन्, अरु पार्टी यी दुई पार्टीका वरिपरि घुम्छन्, तीन प्रतिशतको थ्रेस होल्डको व्यवस्थाले देशमा अब पाँच÷सात वटा पार्टी मात्रै हुन्छ ।”

मतसीमाका कारण साना दललाई काँग्रेस र एमालेसँग एकीकृत हुनाको विकल्प नभएको बताउँदै उहाँले एक स्थान लिएर सरकार ढाल्ने खेल अब सकियो भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)ले क्षणिक आवेगमा आएर काँग्रेससँग गठबन्धन गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “काँग्रेससँगको माओवादी एलाइन्स सैद्धान्तिक एलाइन्स होइन, माओवादीले अन्ततः काँग्रेससँगको एलाइन्स छाडेर एमालेसँग एलाइन्स गर्न आउनुपर्छ अन्यथा माओवादी आफैँ सकिन्छ ।”

कार्यक्रममा चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिका ९ का वडाध्यक्ष उपेन्द्र केसी र नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलीप थापा मगरलाई पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज प्रकाश सिलवाल, एमाले भक्तपुर जिल्ला कमिटीका प्रचार विभाग प्रमुख श्यामसुन्दर बस्नेत, भक्तपुरका प्रजिअ द्रोण पोखरेल, चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, चौतारी भक्तपुर जिल्ला अध्यक्ष कविता थापालगायतले पत्रकारको स्वास्थ्योपचारका लागि कोष स्थापना गर्नुपर्ने बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्