Logo

तरलता बढेपछि धमाधम व्याजदर घटाउँदै बैँकहरु, कुन बैँकले कति घटाए व्याजदर ?



असोज १, काठमाण्डौ । नेपालका बैँक तथा वित्तिय संस्थाहरुमा अहिले ७० अर्ब रुपैयाँभन्दा बढी पूँजी जम्मा भएको छ । यो परिमाणको रकमलाई अधिक तरलताको रुपमा लिइएको छ । यसैका कारण वाणिज्य बैंकहरु व्याजदर घटाउने दबाबमा परेका छन् । तरलता अधिक भएपछि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर घटाउन थालेका छन् । १ असोजदेखि लागू हुनेगरी आठ वटा वाणिज्य बैंकले व्याजदरमा कमि ल्याएका हुन् । सरकारले विकास निर्माणका लागि आर्थिक वर्षको पहिलो महिना साउनमा करिब ७० अर्ब रुपैयाँ निकासा गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरु कार्यभार सम्हाल्ने क्रममै रहेको र विकासे आयोजनाहरुमा खर्च हुन नथालिसकेकाले उक्त रकम बैंकिङ प्रणालीबाट बाहिरिएको छैन ।
यस्तै, यसअघि सुस्ताएको विप्रेषण आप्रवाह साउनमा ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । असार मसान्तसम्ममा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि १३ अर्ब रुपैयाँभन्दा बढी भित्रिएको छ । उक्त पूँजी पनि खर्च हुन नथालेका कारण बैंकिङ प्रणालीमै अल्झेको छ ।
बजारमा तरलता अभाव देखिँदा असोज ०७३ देखि बैंकहरुले मुद्दति निक्षेपको व्याजदर बढाउँदै लगेका थिए । उक्त दर १२ प्रतिशतसम्म पुगेको थियो ।
बैंकिङ प्रणालीमा रकम थुप्रिन थालेपछि व्याजदर घटाउनुको विकल्प वाणिज्य बैंकहरुले नपाएका हुन् ।
व्याजदर घटाउने वित्तिय संस्थाहरुमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा छ ।
यस बैँकले दुई वर्षमाथिको निक्षेपका लागि ६ दशमलव ५० र एक वर्षमाथिका लागि सात दशमलव ५० प्रतिशत तोकेको छ । अहिले मुद्दति निक्षेपमा यो नै उच्च व्याजदर हो ।
यस्तै, नबिल बैंकले अधिकतम आठ प्रतिशतसम्म व्याजदर प्रस्ताव गरेको छ । उक्त बैंकले पाँच वर्षमाथिको निक्षेप वा अक्षय कोषको रकम खातामा जम्मा गर्दा समझदारीमा व्याजदर तय गर्ने बताएको छ ।

नेपाल बंगलादेश बैंकले पनि व्यक्तिगत निक्षेपकर्ताका लागि अधिकतम आठ दशमलव ५० प्रतिशतसम्म व्याजदर प्रस्ताव गरेको छ । उक्त दर दुई वर्षभन्दा बढीको निक्षेपमा लागू हुनेछ ।
उक्त बैंकले एनबी मुद्दती योजनामा दिइआएको नौ प्रतिशतको व्याजदर भने चलाएको छैन ।
नेपाल इन्भेस्टमेन्ट बैंकले पनि शर्त लागू हुने ‘स्पेसल ब्लक’ निक्षेप खातामा व्यक्तिगत निक्षेपकर्ताका लागि नौ प्रतिशत व्याज तोकेको छ । अन्य निक्षपकर्ताको हकमा अधिकतम आठ प्रतिशतमा सीमित बनाएको छ ।
सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले पनि अधिकतम आठ प्रतिशतसम्म व्याजदर प्रस्ताव गरेको छ ।
सनराइज बैंकले अधिकतम आठ दशमलव ५० प्रतिशत व्याजदर प्रस्ताव गरेको छ । एभरेस्ट बैंकले अधिकतम व्याजदर सात प्रतिशतमा सीमित बनाएको छ । उक्त बैंकले ३० भदौदेखि लागू हुनेगरी व्याजदर परिवर्तन गरेको हो ।
सबैभन्दा बढी व्याज प्रभु बैंकले दिने भएको छ, जसले नौ महिनादेखि दुई वर्षसम्मको निक्षेपमा नौ दशमलव ५० प्रतिशतसम्म व्याज दिएको छ ।



प्रतिक्रिया दिनुहोस्