Logo

सुशील कोइराला विपीको सच्चा अनुयायी : वरिष्ठ नेता पौडेल 



काठमाडौँ, १ असोज  ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व सुशील कोइराला विश्वेश्वरप्रसाद कोइरालाको सच्चा अनुयायी भएको बताएका छन् ।

‘सुशील कोइराला सोसियलिष्ट युथ सर्कल’को आज यहाँ समुद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले कोइराला सरल, सादगी, मितव्ययी र निष्ठावान राजनीतिज्ञ भएको बताए । “संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कोइराला नेपाली समाजका लागि अनुकरणीय व्यक्ति हुनुहुन्थ्यो,”–पौडेलले भने ।

पछिल्लो समय नेपालको राजनीतिक पैसामा परिणत हुँदै गएको भन्दै नेता पौडेलले पैसाको बलमा लोकतन्त्रको हत्या हुने खतरा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । “पैसा नभएका तर पार्टीप्रति इमान्दार रुपमा लाग्ने कार्यकर्ताको मुल्याङ्कन हुन छाड्यो,”–उनले भने ।

मुलुक र लोकतन्त्रको सम्मान गर्ने हो भने राजनीतिक क्षेत्रलाई सम्मानित बनाउनुपर्ने उनको भनाई थियो । नेता पौडेलले कम्युनिष्टहरुसँग पैसा भन्दापनि सिद्धान्तका आधारमा प्रतिस्पर्धा गर्नु जरुरी रहेको उल्लेख गरे ।

काँग्रेसका नेता डा रामशरण महतले मुलुक र प्रजातन्त्रका लागि जिवनभर चिन्ता गर्ने व्यक्ति स्व. कोइराला भएको बताए । उनले स्व कोइराला सत्ताप्राप्ती भन्दापनि लोकतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भनेर कटिवद्ध रहने व्यक्ति भएको बताए ।

पूर्व अर्थमन्त्री डा महतले पछिल्लो समय मुलुकमा भ्रष्टचार मौलाउँदै गएको भन्दै यसलाई रोक्नका लागि युवाहरुले सोसियलिष्ट युथ सर्कलको माध्यामबाट आवाज उठाउनु जरुरी रहेको बताए ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष उर्मिला थपलिया, कोषाध्यक्ष शिव रिमाल, पूर्व महामन्त्री मनोजमणि आचार्य, पूर्व सहमहामन्त्री निलकण्ठ रिजाललगायतले पछिल्लो समय नेपाली राजनीतिक पैसाको वलमा चल्दै गएको भन्दै स्व कोइरालाको इमान्दारिताबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।

स्व सुशील कोइरालाले नेपालमा लोकतन्त्रको विकास र विस्तारका लागि खेलेको भूमिका र उनको आदर्शलाई युवाहरुमार्फत आम जनतामाझ पु¥याउन उक्त सर्कलको स्थापना गरिएको सर्कलका अध्यक्ष ताराबहादुर थापाले जानकारी दिए । (रासस)

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्