Logo

राष्ट्रपतिको चियापानमा ५६ जना मन्त्रीहरुमध्ये जम्मा ६ जनामात्रै सहभागी, तीन वटै अंगबाट कार्यवाहकहरुमात्रै हाजिर



सामाजिक, आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखी अघि बढ्न राष्ट्रपतिको आह्वान

काठमाडौँ, ३ असोज । तेस्रो संविधान दिवसका अवसरमा आज साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित सांस्कृतिक कार्यक्रम तथा जलपान समारोहमा नेपालको ईतिहाँसमै जम्बो भनिएको मन्त्रिमण्डलका सदस्यहरुको भने सहभागिता नगन्य थियो ।

यस्तो लाग्दथ्यो कि नेपालमा मन्त्रीहरु नै कम छन् जस्तो । कार्यक्रममा मन्त्रीहरुकोलागि छुट्याईएका हरेक चेयरहरु भ्याकेन्ट देख्दा सहभागीहरु खसाखस कुरा गर्दै थिए कि नेपालमा अब मन्त्रीहरु कार्यक्रममै हिँड्न छोडेछन् ।

कार्यक्रममा उपराष्ट्रपति, कावा प्रधानमन्त्री, कामु प्रधान्यायाधीश, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि र उच्च पदस्थ व्यक्तित्वको सहभागिता थियो ।
सो अवसरमा नेपाल सांस्कृतिक संस्थानका कलाकारले विभिन्न जातजातिका नृत्य प्रस्तुत गरेका थिए । हुन पनि कार्यक्रम पूर्ण रुपमा राष्ट्रिय भावनाले ओतपोत भएको थियो । साँस्कृतिक कार्यक्रममा सहभागी भिआईपीदेखि भिभिआईपीहरु मख्ख नै थिए । सबै खाले नृत्यहरु प्रर्दशन गरिएको थियो, जसका कारण सहभागीहरुले भरपुर मजा लिईरहेका छन् । नृत्य प्रस्तुतिबाट सबैभन्दा बढि मजा लिनेमा नेपालस्थित् विदेशी नियोगका प्रमुखहरु थिए । कार्यक्रममा मिथिलासम्बन्धी तीन ओटा गीत थिए ।

राष्ट्रपतिको निम्तो मान्न मुलुकका कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री शेरबहादुर देउवाले पाएनन् । उनी आजमात्रै अमेरिकाको न्यूयोर्कमा हुने राष्ट्रसंघीय ७२ औं महासभालाई सम्बोधन गर्न त्यता प्रस्थान गरे । यतिवेला प्रधानन्यायधिश गोपाल पराजुली पनि विदेशमा नै छन् । उनी पनि आजको कार्यक्रममा सहभागी थिएनन् । सभामुख ओनसरी घर्तीमगर पनि आजमात्रै श्रीलंका प्रस्थान गरिन् ।

सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारको सहभागिता रहेको थियो भने न्यायलयबाट कामु प्रधानन्यायाधिश दिपकराज जोशी सहभागी थिए । तर व्यवस्थापिका संसदका उपसभामुख गंगा यादवको भने उपस्थिति देखिएन् ।

 

 

यता सरकारका मन्त्रीहरुमा क्रमशः अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, आपुर्तिमन्त्री शिव कुमार मण्डल, खानेपानी मन्त्री महेन्द्र यादव, कृषिमन्त्री रामकृष्ण यादव, सुनिल थापा, दिपक बोहरा र पर्यटनमन्त्री जितेन्द्र देवमात्रै सहभागी थिए । प्रमुख दल नेपाली कांग्रेसका शीर्ष नेताहरु कोही पनि सहभागी थिएनन् ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आँफै उपस्थित् थिए भने नेताहरु एवम् पूर्वप्धानमन्त्री माधव नेपाल र झलनाथ खनाल पनि थिए ।
मधेशी दलहरुबाट कोही पनि शीर्ष नेताहरुको सहभागिता थिएन् । उपराष्ट्रपति नन्दबहादुर पुनको भने सहभागिता थियो । भि.आई.पी.हरुको उल्लेख्य सहभागिता नहुँदा राष्ट्रपतिले आयोजना गरेको चियापानमा त्यति बाक्लो भने उपस्थिति देखिएन् । अन्यथा कार्यक्रमको अत्यन्तै कुशल व्यवस्थापन गरिएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले संविधानले राजनीतिक संक्रमण समाप्त गर्नुका साथै लोकतन्त्रको संस्थागत विकासका लागि मार्ग्चित्रण प्रदान गरेको बताईन ।उनले तीनै तहको निर्वाचनपश्चात जनआकांक्षा अनुरुप मुलुकको सर्वतोमुखी सामाजिक आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखी अघि बढ्न सरकार, सबै राजनीतिक दल र आमजनता समक्ष आह्वान समेत गरिन् ।

राष्ट्रपति भण्डरीले लोकतन्त्र, वाक स्वतन्त्रता, मौलिक हक, जनतामा निहित सार्वभौमसत्ता, मानवअधिकार र सामाजिक न्यायसहितको दु्रत तथा आर्थिक सामाजिक रुपान्तरणका लागि नेपाली जनाताको आकांक्षा र अथक संघर्षको प्रतिफलका रुपमा नेपालको संविधान रहेको उल्ल्ेख गर्दै समाजवाद उन्मुख अर्थ व्यवस्था निर्माण गरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने संविधानको भावना र मर्म कार्यान्यन गर्न हरेक नेपाली अग्रसर भएको बताएकी थिईन् ।

तस्विर : रासस



प्रतिक्रिया दिनुहोस्