Logo

व्यवस्थापिका–संसद्मा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ प्रतिवेदन पेश



काठमाडौँ, ३ असोज । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ र ‘राष्ट्रिय महिला आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ पेस भएको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाको तर्फबाट समितिका सदस्य धनीराम पौडेलले सो प्रतिवेदन संसद्मा पेस गर्नुभएको हो ।

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
यस्तै बैठकले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७४’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको सो विधेयकलाई बैठकले स्वीकृत गरेको हो ।

यस्तै गृहमन्त्री शर्माले नै प्रस्तुत गर्नुभएको ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत सर्वसम्मतीले स्वीकृत गरेको छ ।

त्यस्तै बैठकमा गृहमन्त्री शर्माले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतीका लागि प्रस्तुत गरेपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभयो ।

सांसद सुवालले नियमापत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले जनाऊ घन्टी बजाएर गणपूरक संख्या गणना गर्न सचिवालयलाई निर्देशन दिनुभयो । तर संसद्मा १७५सांसद उपस्थित हुनुभएपछि सांसद सुवालले उठाउनु भएको नियमापत्ति असफल भयो । संसद्मा गणपूरक संख्या पुग्न १४८ सांसद आवश्यक पर्दछ ।

बैठकले सुशासन तथा अनुगमन समितिको प्रतिवेदन सहितको ‘राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४’ लाई पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रस्तुुत गर्नुभएको सो विधेयकलाई बैठकको बहुमतले पारित गरेको हो ।

यस्तै उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारका तर्फबाट भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले प्रस्तुत गर्नुभएको ‘विकास समितिको प्रतिवेदन सहितको स्थानीय शासन विधेयक, २०७३ लाई सर्वसम्मतीले पारित गरेको छ ।

यसैगरी उपप्रधानमन्त्री गच्छदारकै तर्फबाट भूमिसुधार तथा व्यवस्था मन्त्री दहितलले नै प्रस्तुत गर्नुभएको ‘ स्थानीय सरकार सञ्चालन विधेयक, २०७४ लाई पनि बैठकले सर्वसम्मतीले पारित गरेको हो ।

बैठकले उपप्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठले प्रस्तुत गर्नुभएको शिक्षा(नवौं संशोधन) विधेयक, २०७४ लाई पनि बहुमतले पारित गरेको छ ।

व्यवस्थापिका संसद्को अर्को बैठक यही असोज ९ गते बिहान ११ बजे बस्नेछ । (रासस)



प्रतिक्रिया दिनुहोस्