Logo

अब ७० वर्षका नेतालाई सक्रिय राजनीतिमा प्रतिबन्ध लगाउनुपर्छ : मन्त्री प्रधान



काठमाडौँ, ३ असोज । रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकलाई अग्रगतितर्फ लैजानका लागि अब ७० वर्ष उमेर पूरा भएका नेतालाई सक्रिय राजनीतिमा आउन प्रतिबन्ध लगाउनुपर्ने जिकिर गर्नुभएको छ ।

गण्डक टोखा प्रजातान्त्रिक समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री प्रधानले वृद्ध नेताले मुलुकलाई प्रस्ट दृष्टिकोणका साथ अगाडि बढाउन नसक्ने बताउनुभयो ।

समानुपातिक निर्वाचन प्राणालीको पनि अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले यस व्यवस्थाले लक्ष्य गरेका वर्ग समूह आरक्षित हुन नसकेको र स्थिर सरकार निर्माण हुन सम्भावना नरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस काठमाडौँ जिल्ला सभापति सवुज (कृष्ण) बानियाँले मुलुकमा संविधान जारी गर्नेदेखि कार्यान्वयन गराउने कार्यमा आफ्नो दलले भूमिका निर्वाह गरेको प्रस्ट पार्नुभयो ।

पूर्वमन्त्री शङ्कर भण्डारीले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसका नेता तथा कार्यकर्ता एकढिक्का भई अगाडि बढेमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।

समाजका अध्यक्ष इन्द्रविलास घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेसका नेता हरिहर अधिकारी, रजनी थापालगायतले मुलुकमा सुशासन, राजनीतिक स्थायित्वका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्