Logo

कर्मचारीप्रति यसरी असन्तुष्टी पोखे सामान्यप्रशासन मन्त्री टेकबहादुर बस्नेतले



असोज ४, काठमाण्डौ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी र आफुसँग राम्रो सम्बन्ध स्थापित हुन नसकेको बताएका छन् । कर्मचारीको विभिन्न संगठनले अनावश्यक माग उठाएकाले सम्बन्ध राम्रो हुन नसकेको बस्नेतको भनाई छ ।
संघियता अनुसारको स्थानीय तहमा कर्मचारी खटाउने काममा संगठनहरुले सहयोग नगरेको आरोप मन्त्री बस्नेतको छ । आफुले कर्मचारी सरुवा, बढुवा गर्दा कुनै अन्याय नगरेको उनको दाबी छ । पार्टीले कर्मचारी व्यवस्थापनमा कुनै दबाब नदिएको र हस्तक्षेप पनि नगरेको उनले बताए ।
कर्मचारी सरुवा बढुवा गर्दा आर्थिक चलखेल नभएको दाबी गर्दै मन्त्री बस्नेतले भनेका छन्, “आर्थिक चलखेल भएको भन्ने कुरा पुरानो बानी परेकाहरुले भनेका हुन सक्छन् । सामान्य प्रशासन मन्त्रालयले अहिले त्यस्तो काम गरेको छैन ।”
सरुवा वढुवा गर्ने सवालमा कर्मचारी संगठनहरुले सधैँ विरोध गर्ने बताउँदै ट्रेड युनियनमा लाग्ने कर्मचारीले आफ्नो डिउटी विर्सेर युनियनमा राजनीति गर्ने गरेको आरोप मन्त्री बस्नेतले लगाएका छन् ।
कर्मचारीको स्वार्थमा आफुले काम गर्न नसक्ने बताउँदै मन्त्री बस्नेतले कर्मचारीको स्वार्थमा धक्का लागेपछि आफुमाथि झुटा आरोप लगाइएको बताए ।



प्रतिक्रिया दिनुहोस्