Logo

नेपाल चिकित्सक संघले असोज ६ देखि देशभरका अस्पतालमा सेवा बन्द गर्ने



काठमाण्डौ, ४ असोज । नेपाल चिकित्सक संघले असोज ६ देखि देशभरका अस्पतालमा सेवा बन्द गर्ने निर्णय गरेको छ । गत सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिएको संघले आज आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघको कार्यालयमा आज जम्मा भएका विभिन्न विशेषज्ञ समाजका पदाधिकारी, अस्पताल, मेडिकल तथा डेण्टल कलेजका निर्देशक तथा संचालकहरु, संघका पूर्व एवं वर्तमान पदाधिकारीहरुले संयुक्त रुपमा सरकारी निर्णयको विरोध गर्दै आन्दोलनमा जाने निर्णय गरेका हुन् ।

बैठकले निर्णय फिर्ता लगायत तीन बुँदे माग पनि सरकार समक्ष राखेको छ । मागहरुको सम्बोधन नभए असोज ६ गतेदेखि लागू हुने गरी देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको बैठकपछि संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघले अघि सारेका माग यस्ता छन् :

१) २०७४ आश्विन २ गते बसेको मन्त्री परिषद्को बैठकले चिकित्सकहरुलाई मात्रै लक्षित गरी कानूनी राज्यको उपहास गर्दै गरिएको विवादास्पद निर्णयलाई अबिलम्ब सार्वजनिक रुपमा फिर्ता लिनु पर्ने ।

२) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथी हातपात गर्ने व्यक्ति वा समूहहरुलाई बिना धरौटी जेल चलानको प्रावधानको उक्त ऐन तथा नियमावलीमा थप गर्नु पर्ने ।

३) नेपाल चिकित्सक संघसँग नेपाल सरकारले विगतका गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन हुनु पर्ने ।

 



प्रतिक्रिया दिनुहोस्