Logo

हर्ष बडाईँ गरेर‍ दसैंघरमा जमरा राखियो (फोटोफिचर)



काठमाडौं, ५ असोज । आजदेखि दसैं सुरू भएको छ। पहिलो दिन घटस्थापनामा राजधानीको हनुमानढोका दरबारस्थित दसैंघरमा जमरा राखिएको छ। बिहान ९ बजेर ४५ मिनेट जाँदा परम्पराअनुसार जमरा राखिएको हो।

दसैंघरमा राखिएका जमरा विशेष गरी विशिष्ट व्यक्तित्व राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशले प्रयोग गर्छन्। ‘राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र विशिष्ट व्यक्तिका लागि दसैंघरमा जमरा राख्ने गरिन्छ।

दसैंघरका जमरा हनुमानढोकास्थित मूलढोकाबाट सर्वसाधारणलाई पनि वितरण गरिन्छ। दसैंघरका जमरा लिन आउने सर्वसाधारणको संख्या ठूलै हुने गरेको अड्डाले जनाएको छ। दसैंघरमा परम्परा अनुसार अड्डाले जमरा राख्दै आएको छ। जमरा राखेसँगै दसैं सुरु भएको मानिन्छ।

जमरा राख्ने शुभ साइतमा पञ्चै बाजा बजाइन्छ। जमरा राख्दा नेपाली सेनाको सार्दुलजङ गुल्मले बन्दुक पड्काएर बढाईं गर्छ। जमरामा जौ, गहुँ, धान र मकै लगायत टुसाउने अन्न राख्ने गरिन्छ। खोलाबाट चोखो बालुवा ल्याई त्यसमा जमरा राखिन्छ। ‘पशुपतिनाथ मन्दिरभन्दा माथिबाट चोखो बालुवा ल्याएर जमरा राख्ने गरिन्छ।

जमरा राखेपछि दसैंघरमा दैनिक नवदुर्गाको पूजा, आरती, चण्डी पूजा गर्नुका साथै बिहान बेलुकी दुर्गा भजन र मालश्री धुन बजाउने गरिन्छ। त्यसैगरी जमरा राखेपछि विशिष्ट व्यक्तिबाट दुर्गाभवानीको पूजा हुने गर्छ।

दसैंघरमा मात्र नभएर परम्परा अनुसार घरघरमा जमरा राख्ने चलन छ। परिवारको सुख, शान्ति र उन्नतिको संकल्प गर्दै घरघरमा जमरा राखिन्छ भने देशवासीको सुख, शान्ति र उन्नतिको संकल्प गर्दै हनुमानढोकास्थित दसैंघरमा जमरा राख्ने परम्परा छ। जमरा राखेसँगै दसैं सुरु भएको मानिन्छ। यसरी राखिएका जमरा नौ दिनपछि विजया दशमीको उपलक्ष्यमा मान्यजनबाट टीकासँगै शिरमा सिउरिने गरिन्छ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्