Logo

२३ स्थानीय तहसहित ५९५ वडाको मत परिणाम सार्वजनिक



काठमाडौँ, ५ असोज । स्थानीय तहको तेस्रो चरणमा असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३५ स्थानीय तहमध्ये अहिलेसम्म २३ स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज ४ः३० बजे प्राप्त विवरणअनुसार प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार आठ स्थानीय तहमा, नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र)का चार चार तहमा, राष्ट्रिय जनता पार्टी नेपालका तीन तह तथा संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार दुई दुई स्थानीय तहमा विजयी भएका छन् ।

अहिलेसम्म ५९५ वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । मतगणना बाँकी रहेका ११२ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको छ ।

त्यस्तै राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगित राजविराज नगरपालिका वडा नं १५ मा आज शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्