Logo

देउवाप्रति व्यंग्य गर्दै ओलीले भने,”गतिलो मान्छे चारपटक प्रधानमन्त्री हुँदैन”



नवलपरासी, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूलो दल नेपाली कांग्रेसले लोकतन्त्रको नाउँ दिएर माओवादीकी छोरी बोक्ने काम गरेको बताएका छन् ।

बिहिबार नवलपरासीको गैडाकोटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन् । उनले अघि भने,‘यही परिपाटी कांग्रेसजस्तो पार्टीलाई माओवादीले छोरी बोकाएको छ, डोको बोक्याछ नाम्लो लगाएको छ । के बोक्यो कांग्रेसले भनेको त माओवादीको छोरी ?’ ओलीले थपे,‘प्रजातन्त्र केलाई आयो भन्दा त माओवादीको छोरीलाई आयो ।’

पिपलको बोट र तिते पातीसँग तुलना गर्दै ओलीले पिपलको बिरुवाभन्दा तिते पातीको बिरुवा छिटो हुर्किने तर छिट्टै बुढो भएर ढल्ने प्रसँग निकाल्दै उनले माओवादी पनि तितेपाती जस्तै भएको टिप्पणी गरे ।

त्यस्तै उनले सत्तारुढ दल कांग्रेस र माओवादी सतिदेवीको अगं खसेजस्तै गरी सड्दै गएको आरोप लगाएका छन् । ओलीले सतिदेवीको अंग प्रत्यगं फतक्क–फतक्क खसेजस्तै अवस्थामा कांग्रेस–माओवादी पुगेको बताए ।

ओलीले ‘दुवै पार्टीकोे जीवन तत्व नै छैन।’ उनले भने, ‘जीवन तत्व नभएकोले सड्छ र अंग प्रत्यंग झर्छ ।’ कांग्रेसले दुई तिहाई बहुमत ल्याएको र पटक–पटक बहुमत ल्याएको प्रसंगलाई साढे र बुढो गोरुसँग तुलना गर्दै उनले भने,‘हाम्रो गाँउमा एउटा साढे थियो। बैसमा सबैलाई त्यसले जित्यो त्यसलाई बुढेसकालमा बाच्छोले पनि हेप्थ्यो । आज कांग्रेस त्यस्तै हालतमा छ । उसले फु गर्न खोज्छ बाच्छोले हान्दिन्छ।’

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाकोबारेमा समेत टिप्पणी गरे । प्रधानमन्त्री बन्नका लागि शेरबहादुर देउवाले माओवादीसँगजस्तो पनि सम्झौता गरेको उनले आरोप लगाए । उनले अघि भने,‘प्रधानमन्त्री चारपल्ट किन हुनुर्पयो? गतिलो मान्छे चारपटक प्रधानमन्त्री हुँदैन । एकपल्टमा काम देखाउँछ ।’



प्रतिक्रिया दिनुहोस्