Logo

एमालेलाई हराउन प्रधानमन्त्रीले साम्प्रदायिक भाषा प्रयोग गरेको एमाले नेताको आरोप



असोज ६, काठमाण्डौ । नेकपा एमालेका नेता केशब बडालले मधेशमा नेकपा एमाले अत्यन्त कमजोर भएको भन्ने विश्लेषण सही नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नपाली बहसमा कुरा गर्दै नेता बडालले मधेश भन्नाले प्रदेश नम्बर २ मात्र नभएको तर्क गर्दै समग्र मधेशमा एमालेको जनमत राम्रो रहेको दाबी गरेका हुन् ।
प्रदेश नम्बर २ मा विगतमा पनि नेपाली कांग्रेस पहिलो ठूलो दल भएको र अहिलेको चुनावी नतिजाले पनि त्यसलाई निरन्तरता दिएको नेता बडालको तर्क छ ।
प्रदेश नम्बर २ को तीनवटा उपमहानगरपालिकामध्ये २ वटामा एमालेले नै अग्रता लिएको तथ्याङ्क पेश गर्दै नेता बडालले एमाले अत्यन्त कमजोर नभएको बताए ।
“अहिलेको नतिजाले साह्रै आत्तिने विषय होइन ।” बडालले भने ।
अर्कोतिर नेकपा एमालेलाई हराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले साम्प्रदायिक भाषा प्रयोग गरेको आरोप नेता बडालले लगाएका छन् । “प्रधानमन्त्रीले गाउँगाउँमा गएर एमाले मधेश र तराई विरोधी हो भनेर जनतामाझ बोल्नुभयो । अरु धेरै तत्वले एमालेको विरुद्धमा गलत हल्ला फैल्याएका थिए ।” बडालले आरोप लगाए ।
पछिल्लो समय सबै दल एकातिर र एमाले एक्लै अर्कोतिर उभिएर चुनावमा गएको बडालको भनाई छ । अध्यक्ष ओलीको तीन वर्षे कार्यकालको समिक्षा गर्दै बडालले राष्ट्रियताको झण्डा गाड्न ओली सफल भएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्