असोज ७, काठमाण्डौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनलाई परिमार्जन गरेर पास गर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै सचिव विष्टले छलफलपश्चात प्रतिवेदनलाई परिमार्जन गरिने जानकारी दिएका हुन् ।
विष्टले प्रदेश नम्बर २ को चुनावी नतिजा पार्टीले आन्तरिक रुपमा गरेको अनुमान अनुसार नै आएको खुलासा गरेका छन् । बाहिर जे भनिए पनि पार्टीभित्रको छलफलमा अहिले आएको नतिजा नै आफुहरुले अपेक्षा गरेको विष्टले सार्वजनिक गरेका हुन् ।
“हामीले करिब झण्डै यस्तै अनुमान गरेका थियौँ ।” विष्टले भने ।
“योभन्दा थप अलि राम्रो परिणाम आउँछ कि भन्ने आशा पनि थियो । तर हामीले एकदमै उत्साहित भएर मुल्याङ्कन गरेका थिएनौँ ।” विष्टले थपे ।
“नेकपा एमालेका विरुद्ध चारैतर्फबाट घेराबन्दी गरिएको आरोप विष्टले लगाएका छन् । नेकपा एमाले मधेशी जनताविरोधी पार्टी हो भन्ने दुश्प्रचार गरिएको थियो । त्यसलाई नेकपा एमालेले समयमा खण्डन गरेको थिएन ।” विष्टको भनाई छ । राज्यसत्ताको स्रोत साधनको पर्याप्त दुरुपयोग गरिएकोसमेत विष्टको आरोप छ ।
एमालेका शीर्ष नेताहरुले नै मधेशविरोधी अभिव्यक्ति दिएकाले कमजोर नतिजा आएको होइन र भन्ने ऋषि धमलाको प्रश्नमा विष्टले भनेका छन्, “कतिपय नेताहरुका शब्द र अभिव्यक्तिले जनतामा नकारात्मक प्रभाव पर्ने स्थिती पनि रह्यो होला ।”
जिम्मेवार पार्टीका जिम्मेवार नेताहरुले जनताको मनलाई प्रभाव पार्ने अभिव्यक्ति दिनु शोभनीय नहुने विष्टको भनाई छ । हिमाल, पहाड र तराईका जनताको एकतालाई जोगाएर नै नेपाल राष्ट्र बलियो हुने विष्टको तर्क छ ।
नेकपा एमालेका नेताहरुले बोल्दै नबोलेका कतिपय कुराहरुको प्रचार गरिएको विष्टको आरोप छ ।