काठमाडौं, ७ असोज । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखाली जनताहरुले आफूलाई नै विजयी बनाउने विश्वास व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग चुनाव लड्न आफू तयार रहेको उद्धघोष समेत गरे ।
प्रेस सोसाइटीले शनिबार गोरखामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संयोजक भट्टराईले यस्तो दाबी गरेका हुन् । उनले गोरखा क्षेत्र नम्बर २ मा नारायणकाजीसँगको चुनावी दौड उर्जा पैदा गर्ने खालको हुने बताए। स्कुले जीवनमा अहिलेका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटासँग सँधै कक्षामा पहिलो हुनका लागि प्रतिस्पर्धा हुने र आफू सँधै पहिलो हुने स्मरण गर्दै उनले श्रेष्ठसँगको चुनावी प्रतिस्पर्धा पनि रोमाञ्चक हुने बताएका हुन्।
‘प्रतिस्पर्धी जति सक्षम भयो त्यत्ति उर्जा पैदा हुन्छ, डा. उपेन्द देवकोटा नेपालमा मात्र होइन अन्तर्रा्ष्ट्रिय क्षेत्रमा पनि चर्चित डाक्टर हुनुहुन्छ। स्कुलमा पढ्दा म सधैँ फस्ट हुने उहाँ सेकेण्ड। उहाँ त्यत्ति सक्षम प्रतिष्पर्धी हुनुहुन्थ्यो त्यही कारणले म सधैं फस्ट हुन्थेँ’ भट्टराईले भने। आउँदो मंसिर १० गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफूले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने निर्णय गरिसकेको भट्टराईले प्रष्ट पारे। नेकपा माओवादी केन्द्रले पनि नेता नारायणकाजी श्रेष्ठसहित सम्भावित उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ।