Logo

खाद्यान्न ढुवानीका लागि टेण्डर पार्ने तर काम नगर्नेको खोजी गर्ने आपूर्तिमन्त्री मण्डलको चेतावनी



असोज ८, काठमाण्डौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले बाजुरामा चामल अभाव भएको भन्ने जनताको गुनासोलाई सम्बोधन गर्ने बताएका छन् । “चामल अभाव हुनुनपर्ने हो, तर कसरी अभाव भयो भन्ने विषयमा म अध्ययन गरेर तत्काल सम्बोधन गर्छु ।” मन्त्री मण्डलले भने ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै मन्त्री मण्डलले तत्काल बाजुराको अवस्था बुझेर चामलको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।
पहिल्यै निर्देशन भइसकेको जानकारी दिदै किन पालना भएन भन्ने विषयमासमेत खोजी गर्ने उनले बताएका छन् ।

चाडपर्वका बेला खाद्यान्न अभावको समस्या हुनु दुखद भएको भन्दै मन्त्री मण्डलले खाद्यान्न ढुवानीका लागि टेण्डर पार्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा समस्या भएको हुनसक्ने अनुमान गरे । टेण्डर पारेर पनि काम नगर्नेको खोजी गरिने उनको दाबी छ ।
बाजुराका खाद्यान्नका डिपोहरुले नै चामल नभएको जवाफ जनतालाई दिने गरेको पाइएको छ ।

अर्को प्रसङ्गमा मन्त्री मण्डलले राजमार्गका होटलमा अनुगमनका लागि सम्बन्धित जिल्लाका सिडियोहरुलाई जिम्मा दिइएको बताएका छन् । राजमार्गका होटलहरुले यात्रुलाई गुणस्तरहिन खाना खुवाउने गरेको भन्ने गुनासोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै मण्डलले सम्बन्धित जिल्लाका सिडियोलाई थप जिम्मेवार बनाउने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस्