Logo

केन्द्र र प्रदेश सभाको चुनाव तयारी गर्न फोरम नेपालको पोलिटब्यूरो बैठक सुरु



काठमाडौं, ९ असोज । संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने संघीय संसद र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी सुरु गरेको छ । उम्मेदबार चयनको मापदण्ड र सम्भाव्य उम्मेदबारको सूची बारे छलफल गर्न फोरम नेपालको राजनीतिक समिति बैठक बसेको हो ।

निर्वाचनको तयारी अनुरुप पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा सोमबार राजनीतिक समितिको बैठक बोलाइएको छ । बैठक दिउसो १ बजेदेखि सुरु भएको छ । संघीय समाजवादी फोरम नेपालका महासचिव रणध्वज कन्दङवाले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रीत गरी राजनीतिक समितिको बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा आगामी निर्वाचनमा कसरी जाने ? को को नेताहरु कहाँबाट निर्वाचनमा लड्ने र उम्मेदबार चयनको मापदण्ड के हुने लगायत बिषय बैठकको मुख्य एजेन्डा भएको महासचिव कन्दङ्वाले बताए ।

नयाँ संविधान अनुसार नयाँ निर्वाचन क्षेत्र बनाइएको छ । तर अबको निर्वाचन क्षेत्र भूगोल र जनसंख्याका हिसाबले ठूलो आकारको छ । हाल देशभरि कूल १६५ निर्वाचन क्षेत्र बनाइएको छ । एक निर्वाचन क्षेत्रमा दुईवटा प्रदेश निर्वाचन क्षेत्र कायम गरिएको छ ।

ठूलो आकारको निर्वाचन क्षेत्र भएकोले आगामी मंसिरमा प्रत्यक्ष निर्वाचन जित्नका लागि दलहरुलाई ठूलो चुनौतीको विषय बनेको छ । संघीय समाजवादी फोरम नेपालले यही चुनौतीलाई सामना गर्नका लागि निर्वाचन तयारी सुरु गरेको हो ।



प्रतिक्रिया दिनुहोस्