Logo

अबको चुनावमा वामपन्थी दलबीच एकता हुनुपर्छ : नेता नेपाल



चितवन, १० असोज : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताएका हुन् ।

वामपन्थी तालमेलका विषयमा नेकपा (माओवादी केन्द्र) तयार रहे एमाले तयार रहेको उनले बताए । केन्द्रस्तरबाट नै तालमेल हुनुपर्ने बताउँदै नेता नेपालले केन्द्रबाट सम्भव नभए स्थानीयस्तरबाट पनि तालमेल गर्नुपर्ने बताए । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भए एमाले एक्लै निर्वाचनमा जाने उनले बताए ।

फरक प्रशंगमा उनले  प्रदेश नं २ मा मत र वडाध्यक्षको हिसाबले एमाले दोस्रो शक्ति रहेको दाबी गरे । प्रमुख र उपप्रमुखको हिसाबले आफूहरु तल रहेको भएपनि २ नं प्रदेशमा समग्रमा एमाले दोस्रो भएको उनले बताए ।

नेपालले भने, “समग्रमा निराशाजनक छैन ।” पार्टीको आन्तरिक कमीकमजोरी, सरकारी बदमासी र अन्य दलको गठबन्धनका कारण २ नं प्रदेशमा एमाले पछि परेको पनि बताए ।

अर्काे प्रश्नमा उनले काठमाडौँ वा रौतहटमध्ये एक ठाउँबाट आफू उम्मेदवार बन्ने बताए । उनले भने,“जहाँका जनताले माया गर्छन् त्यहीँबाट निर्वाचन लड्छु ।” स्थानीय तहको निर्वाचनको समयमा भएका कमीकमजोरीका कारण खोज्दै अघि बढ्ने नेता नेपालको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्