Logo

पूर्वाधार निर्माणको काम सुस्त : राज्यमन्त्री गुरुङ



तेह्रथुम, १२ असोज : भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले निर्माण व्यवसायी र कम्पनीको लापरबाहीका कारण पूर्वाधार निर्माणको कार्य सुस्त भइरहेको बताउनुभएको छ ।

तेह्रथुमका सडक, पुल तथा अन्य योजनाको वस्तुस्थितबारे अवलोकन तथा अनुगमन गर्नका लागि यहाँ आइपुग्नुभएकी राज्यमन्त्री गुरुङले भन्नुभयो —“निर्माण व्यवसायी र कम्पनीकै कारण सरकार र मन्त्रालयद्वारा सञ्चालित विकास निर्माणको कार्यमा प्रभावकारिता देखिन सकिएको छैन् ।”

राज्यमन्त्री गुरुङले तेह्रथुम जिल्लामा योजना र तिनका लागि आवश्यक बजेट पर्याप्त भए पनि ठेकेदार कम्पनीले समयमा काम नगरिदिदाँ समस्या आएको बताउँदै क्षमताभन्दा धेरै योजना सम्झौता गर्ने र विभिन्न बहाना देखाउँदै समयमा काम सम्पन्न नगर्ने चलन देशभर मौलाएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

त्यसको निराकरणका लागि आफू निरन्तर प्रयासरत रहने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

ठेकेदार कम्पनीको लापरबाहीकै कारण जिल्लाका दर्जनौँ योजना सुस्त गतिमा अगाडी बढिरहेको छ । जिल्लाको मेरुदण्डका रुपमा रहेका मध्यपहाडी लोकमार्गको स्तरोन्नति र कालोपत्रको काम अगाडी बढ्न सकेको छैन् । त्यस्तै खोरुङगा र कोया खोलाको पुल निर्माणको काम पनि अगाडी बढ्न सकेको छैन् ।

यसैगरी म्याङलुङ–वसन्तपुर सडकखण्डको स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगर्दा अहिले पनि वर्षा हुनासाथ सवारी अवरुद्ध हुने अवस्था छ । सिधुवा–शुक्रबारे सडक स्तरोन्नतिको जिम्मा लिएको कम्पनीले पनि समयमा काम गर्न सकेको छैन । म्याङलुङ–ओख्रे सडकखण्डको लम्बु खोलामा पुल निर्माणको काम म्याद सकिएर तीन पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । म्याङलुङ–याशोक सडकखण्डको तमोर नदी लुमुघाटमा पनि पुल निर्माणको काम अलपत्र छ ।

यसरी जिल्लाका दर्जनौँ योजनामा ठेकेदार कम्पनीको लापरबाहीका कारण जिल्लावासीले दुःख र सास्ती बेहोर्नु परेको भन्दै राज्यमन्त्री गुरुङले दुःख व्यक्त गर्नुभयो ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले जिल्लाको पूर्वाधार निर्माणको कमजोर अवस्था हुनुमा निर्माण कम्पनीकै कमजोरी भएको स्पष्ट पार्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्