Logo

चाडबाडको मौका छोपी रुटमा चलेनन् सार्वजनिक सवारी



काठमाडौँ, १२ असोज: दशैँको मौका छोपी सार्वजनिक यातायातले रुट परमिट लिएको स्थानमा सवारी नचलाउँदा आवत–जावतमा समस्या भएको यात्रुले गुनासो गरेका छन् ।

चाडबाड वा अन्य अप्ठ्यारो समयको अवसर पारेर सार्वजनिक यातायात तोकिएभन्दा बाहिर सञ्चालन हुँदा सडकमा सवारी नपाएर हिँड्नुपर्ने बाध्यता रहेको यात्रुको भनाइ छ । सार्वजनिक बिदा दिइएको फूलपातीका दिन बेलुकी पुरानो बसपार्क–सुन्दरीजल रुटमा चल्ने सिटी यातायात व्यवसायी सेवा समितिका बा२ख ६२६४ र बा२ख ६८०५ नंको बस खुलामञ्चस्थित बसपार्कमा नछिरी यात्रुको बिचल्ली बनाएको यात्रु रविना देउलाले दुखेसो गर्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको फोन नं १०३ मा सवारी नम्बरसहित गुनासो गर्दा पनि प्रहरीले कारबाही नगरेको उहाँले सुनाउनुभयो ।

बाइस लाख यात्रु उपत्यकाबाहिर 

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकार रुटमा चल्ने भनी रुट परमिट लिएका सवारी रुटमा नचले त्यसको विवरण आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने बताउनुहुन्छ ।

“भदौ २० देखि असोज ११ गते बुधबार बेलुकीसम्म २२ लाख यात्रु दशैँ मान्न उपत्यका बाहिरिएका छन्, दशैँको अवसर पारेर बढी भाडा लिने १४ वटा लामो दूरीका, ६० वटा ट्याक्सी र बढी भाडा लिन बिचौलियाको काम गर्ने ३३ जनालाई कानुनी कारबाहीको दायरामा ल्याइएको छ”, उहाँले भन्नुभयो ।

सार्वजनिक यातायातका लागि निजी क्षेत्रका व्यवसायीको भर परिएको अवस्थामा चाडबाड र अप्ठ्यारो परिस्थितिमा जिम्मेवार भएर काम नगर्दा लाखौँ यात्रुले दैनिक दुःख झेल्नु परेको सार्वजनिक यातायात सुधारको अभियानमा लाग्नुभएका रामबहादुर थापा बताउनुहुन्छ ।

नियम उल्लङ्घन गर्नेलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही नहुँदा यातायात क्षेत्रमा विकृति मौलाएको उहाँले बताउनुभयो । यातायात व्यवसायीको दबाबमा चाप भएका ठाउँमा सवारी चलाउन पाउने निर्णय विभागबाट गराएर यात्रुलाई दुःख दिने काम भएको उपभोक्ता अधिकारवादीको भनाइ छ ।

सार्वजनिक यातायात क्षेत्रमा कायम भएको एकाधिकार (सिण्डिकेट)ले गर्दा पनि यात्रु मर्कामा पर्ने गरेका छन् ।  रासस



प्रतिक्रिया दिनुहोस्