Logo

ऋषि धमलालाई राजनीतिमा आउन चौतर्फी दबाब, समानुपातिक कि प्रत्यक्ष ?



असोज १६, काठमाण्डौ । प्रदेश र केन्द्रिय प्रतिनिधि सभाको चुनाव नजिकिदै गर्दा विभिन्न दलहरु लोकप्रिय व्यक्तिलाई पार्टीभित्र प्रवेश गराउने वा स्थान दिने अभियानमा लागेका छन् । विभिन्न कलाकार, नागरिक समाजका अगुवा, अन्य पार्टीका नेता कार्यकर्तादेखि पत्रकारसम्मलाई आफ्नो पार्टीमा ल्याएर उम्मेदवार बनाउन दलहरु प्रयासरत छन् ।
केही प्रमुख दलहरुले पत्रकार ऋषि धमलालाई चुनाव लड्नका लागि आग्रह गरिरहेका छन् । आफूलाई चुनाव लड्नका लागि जनतादेखि विभिन्न दलका नेताहरुसम्मले दबाब दिइरहेको धमलाले बताएका हुन् ।
संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशका जुनसुकै क्षेत्रमा चुनाव लड्न चाहे पनि टिकट दिन सकिने बताइसकेका छन् । त्यस्तै राजपाका नेता महेन्द्र राय यादवले पनि रिपोर्टस क्लब नेपाल डटकमसँग कुरा गर्दै मधेश निर्वाचन क्षेत्रबाट चुनाव लड्नका लागि आग्रह गर्दै सर्वसम्मत टिकट दिने बताउँदै आएका छन् ।
धमलाको गृहजिल्ला धादिङमा पनि लोकप्रियता बढ्दै गएपछि दलका नेताहरुले धमलालाई अघि सार्न इच्छा देखाएका छन् । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले धादिङको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भए सहयोग गर्ने बताएका छन् । “तपाई आउनुस, साझा उम्मेदवार बन्नुस्, एउटै मञ्चबाट तपाईका लागि भोट माग्न तयार छु ।”
नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्झा भुसाललेसमेत धमला राजनीतिमा आउने हल्ला सुनेको भन्दै चुनावमा उम्मेदवारी दिने हो भने सहयोग गर्ने प्रतिवद्धता सार्वजनिक कार्यक्रमबाट नै गरेकी छिन् ।
नेकपा एमालेका कतिपय नेताहरुलेसमेत सर्वसम्मत रुपमा उम्मेदवारी स्विकार्न तयार रहेको बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही समयअघि भनेका थिए, ऋषि धमला चुनाव लड्ने हो भने हामी सकारात्मक हुन्छौँ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत धमलाको पक्षमा रहेका छन् । गृहजिल्ला धादिङमा धमलाको राम्रो जनमत रहेकाले त्यहाँबाट चुनाव लड्दा जित हात पार्ने अवस्था रहेको नेताहरुले बताएका छन् ।
नेपाली पत्रकारिता क्षेत्रमा जनभावनालाई समेट्न सफल धमला पछिल्लो समय निकै चर्चामा छन् । जसका कारण विभिन्न दलहरुले पनि धमलालाई समेट्न चाहेका हुन् । धमलाले पत्रकारितामा देखाएको आफ्नो क्षमता, निर्भिकता र स्वतन्त्र पत्रकारिताका कारण उनीप्रति दलका नेताहरु आकर्षित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्