Logo

विपन्न विद्यार्थी कोषमा रु एक लाख सहयोग



रत्ननगर, चितवन, १६ असोज (रासस) ः पूर्वी चितवनको खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषमा अमेरिकाबाट रु एक लाख सहयोग प्राप्त भएको छ ।

गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न स्थापित उक्त कोषमा अमेरिकामा रहेको ग्लोबल एक्सन कोलिसनमार्फत रु एक लाख तीन हजार २५० सहयोग प्राप्त भएको कोषका संयोजक मुरलीप्रसाद गजुरेलले जानकारी दिनुभयो ।

उक्त संस्थाका सदस्य चितवन निवासी हेमु अधिकारी र रुपेन बज्राचार्यको पहलमा रकम सहयोग भएको गजुरेलको भनाइ छ ।

यसअघि उक्त संस्थामार्फत चेपाङ बालबालिका अध्ययनरत पूर्वी चितवनको अन्त्योदय स्कुलमा रु तीन लाखभन्दा बढी सहयोग गरिएको जनाइएको छ । विसं २०६७ मा गजुरेलले साढे ६ हजार जम्मा गरेर चितवनको खैरहनी उच्चमाविमा जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको थियो ।

परिवारका सदस्यले प्रत्येक वार्षिकोत्सवका अवसरमा पैसा थप्दै जाने कार्यक्रम शुरु गरेर थालिएको अभियानमा अहिलेसम्म रु ६५ लाख जम्मा भइसकेको उहाँ बताउनुहुन्छ । कोषमा रु एक करोड बनाउने लक्ष्य रहेको छ । उक्त कोष सञ्चालनका लागि खैरहनी माविसँग सहकार्य भएको छ ।

“म एसएलसी नगरेको मान्छे, चाहना भए पनि पढ्न नपाउँदा कस्तो पीडा हुन्छ भन्ने मलाई थाहा छ, त्यसैले उच्च शिक्षा पढ्न नसक्ने विद्यार्थीलाई केन्द्रित भएर लागेको छु,” गजुरेलले भावुक हुँदै भन्नुभयो । कोषको ब्याजबाट उच्च शिक्षा पढ्ने जेहेन्दार र गरिब विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आएको छ । कोषबाट अहिलेसम्म ४०० विद्यार्थीले सहयोग पाएको उहाँको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot