Logo

सातवटा खानेपानी योजना निर्माण शुरु



तेह्रथुम, १६ असोज (रासस) : तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम शुरु भएको छ । विभिन्न छ गाउँका ७४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण शुरु भएको हो ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी खानेपानी योजनाहरुको निर्माण शुरु भएको हो ।

जिल्लाका सुक्खाग्रस्त क्षेत्रको खानेपानी समस्या सुल्झाउन फण्ड बोर्डको सहयोगमा खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत खानेपानी योजना निर्माण थालिएको सोसाइटीका निर्देशक कपिलदेव सिंगकले बताउनुभयो । सुक्खाग्रस्त फेदाप गाउँपालिका–१ सिम्लेमा सापकोटा र साक्चुवा खानेपानी योजनाहरु निर्माण हुने भएका छन् ।

यस्तै हमरजुङमा देउराली खानेपानी योजना, सक्रान्तिमा सोदन खानेपानी योजना, सुदापमा आहालडाँडा खानेपानी योजना, इसिवुमा रिठ्ठे खानेपानी तथा जलजलेमा चापाबोटे खानेपानी योजनाको निर्माणको काम भइरहेको छ । सातवटै योजना सम्पन्न गर्नका लागि कुल रु चार करोड एक लाख चार हजार ४९६ खर्च हुने सोसाइटीका खानेपानी तथा सरसफाइ अधिकृत जितलाल लिम्बूले बताउनुभयो ।

जसमध्ये फण्ड बोर्डको एक करोड ६४ लाख ३७ हजार ७४१, स्थानीयवासीद्वारा संकलित नगद रु ४० लाख ६ हजार २७६ र रु एक करोड ९६ लाख ६० हजार ४७८ बराबरको श्रमदान रहेको छ । ती आयोजना निर्माण भएपछि ७४६ घरधुरीका तीन हजार ८०२ जनाले पाइप प्रणालीको शुद्ध खानेपानी उपभोग गर्न पाउनेछन् ।

जिल्लामा यसअघि पनि खानेपानी तथा सरसफाइ कोष विकास समितिको सहयोगमा करिब एक दर्जन खानेपानी योजना निर्माण भएका थिए । खानेपानी योजना सञ्चालन भएको क्षेत्रमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिएको छ । ती गाउँलाई पूर्ण सरसफाइयुक्त गाउँ बनाउन अभियानकै रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्